स्मार्ट टेलिकम पीडितलाई अन्यायमा पर्न दिँदैनौँ’ : सञ्चार मन्त्री खरेल
काठमाडौँ / स्मार्ट टेलिकम पीडितहरूले सञ्चार मन्त्री जगदीश खरेललाई भेटेका छन् ।
आज सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरूले सञ्चार मन्त्री खरेललाई भेटेर आफूहरू लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।
भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरूले पनि दिएको तर बर्सौँ भाडा नतिर्दा टेलिकमबाट आफूहरू पीडित बनेको उनीहरूले बताए ।
स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरू पीडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि सञ्चार मन्त्री भेट्नुपरेको बताए ।
स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाका अनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ । सरकारले समिति पनि बनाएको छ ।
‘तपाईँहरूको माग जेजे छ, लिखित ल्याउनुहोस् यो सरकारले कसैलाई अन्यायमा पर्न दिँदैन । सबैतिरका समस्या सरकारले सुन्छ । समस्या सुन्दा कहाँनिर बदमासी भएको छ, को अन्यायमा परेको छ । यसको न्याय र समस्या समाधान कसरी हुनुपर्छ, सरकारले खोजिहाल्छ,’ उनले भने ।






