लामो रस्साकस्सीपछि एमाले काभ्रेले सर्वसम्मत छान्यो महाधिवेशन प्रतिनिधि
नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि काभ्रेबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । २४ पदका लागि ८८ जनाको उम्मेदवारी परेकोमा लामो रस्साकस्सीपछि सर्वसम्मत प्रतिनिधि चयन गरिएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट ११ जना, प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट १२ जना र दलित तर्फ एक जना गरी २४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
क्षेत्र नम्बर १ मा खुल्ला तर्फ ६ जना, महिला ४ र युवा १ जना प्रतिनिधि चयन भएका छन् । खुल्लामा अमित लामा (अमि लामा), चन्द्र लामा, ठाकुर बाँस्कोटा, देवसागर लामा, राजन भुर्तेल, ज्ञान बहादुर लामा, महिला तर्फ उमा थापा, गिता बञ्जारा, गिता तामाङ, पवित्रा भुर्तेल र युवा तर्फ जेनिश लामा एघारौं महाधिवेशनका लागि प्रतिनिधि चुनिएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा खुल्ला ७, महिला ४ र युवा १ गरी १२ जना निर्बिरोध भएका छन् । खुल्ला तर्फ अशोक ब्याञ्जु, कञ्चन अधिकारी, कुमार थापा, प्रेम लामा, भिम न्यौपाने, रत्नकुश रंजितकार, हरिशरण दाहाल, महिला तर्फ उन्नती केसी, जीवनदेवी रायमाझी, निर्मला शाही, रिता ढकाल गौतम र युवामा इश्वर सापकोटा प्रतिनिधि चयन भएका छन् । दलित तर्फ मदन विश्वकर्मा निर्बिरोध भएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा खुल्ला ६ जनाको लागि मा २६ जनाको उम्मेदवारी परेको थियो । महिला प्रतिनिधि ४ जनाको लागि ९ जना, युवा १ जनाको लागि ७ जनाको उम्मेदवारी परेको थियो । यस्तै क्षेत्र नम्बर २ मा खुल्ला ७ जनाको लागि २९ जना, महिला ४ जनाको लागि १० जना र युवा १ जनाको लागि ५ जनाको उम्मेदवारी परेको थियो । दलित तर्फ १ जना प्रतिनिधिको लागि २ जनाले मनोनयन दर्ता गराएका थिए । थोरै पदमा धेरै जनाको उम्मेदवारी परेपछि प्रतिनिधि चयनमा सकस परेको थियो । लामो छलफलपछि एमाले काभ्रे सर्वसम्मत प्रतिनिधि चयन गर्न सफल भएको हो ।
नेकपा एमालेले नविकरण गरेका १५ हजार १ सय ११ जना मतदाता रहेको बताएको छ । निर्वाचन क्षेत्र नम्वर १ मा ७ हजार ५३ र निर्वाचन क्षेत्र नम्वर २ मा ८ हजार ५८ जना रहेका छन् ।






