आभाष साकोसको १६ औं वार्षिकोत्सवमा १ सय ९७ जना ज्येष्ठ सदस्यलाई सम्मान

बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ सदस्य सम्मान गरेको छ । मुख्य कार्यालय बनेपा र सेवा केन्द्र अन्तर्गत भकुण्डे र पनौती क्षेत्रका १ सय ९७ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादेले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । कार्यक्रममा उनले ज्येष्ठ सदस्यको अनुभव, ज्ञान, मार्गदर्शन प्रेरणाको स्रोतका रुपमा रहेको बताए । सहकारी आर्थिक कारोबार गर्ने संस्था मात्रै नभई स्नेह, ज्ञान र अनुभव साटासाट गर्ने थलो रहेको उनको भनाई थियो ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले सामाजिक रुपान्तरण र आर्थिकस्तर उकास्नमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । गलत गर्नेलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाउँदै उनले असल कार्य गरिरहेका सहकारीको प्रवद्र्धनमा नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताए । उप–प्रमुख विमला सापकोटाले महिलालाई उद्यम मार्फत आत्मनिर्भर बनाउन सहकारीको योगदान रहेको बताइन् ।

संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले सहकारीको महत्वपूर्ण आधार सदस्य भएकाले सदस्यमुखी सेवा प्रवाह, उद्यमशीलता प्रवद्र्धनमा आभाष साकोसले काम गरिरहेको बताए । अध्यक्ष ग्रुबेन तौजले ज्येष्ठ नागरिकको सल्लाह, सुझाव र नयाँ पुस्ताको चाहना अनुसार काम गरिरहेको बताए । स्वास्थ्य शिविर, पर्यावरण संरक्षण लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गरिरहेको उनले जानकारी दिए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले सहकारीले बचतसँगै आर्थिक समृद्धिमा जोडिन सिकाएको बताए ।

कार्यक्रममा उपाध्यक्ष प्रकाश कायस्थ, सचिव धर्मभक्त प्रधानले ज्येष्ठ सदस्यका सन्दर्भमा संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । संस्थाले हरेक महिना ५ सय रुपैयाँ बचत गर्ने ज्येष्ठ सदयलाई सम्मान गर्दै आएको छ । ज्येष्ठ सदस्य मध्ये उत्कृष्ट बचत गर्ने ज्येष्ठ सदस्य भैरव बहादुर श्रेष्ठलाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरिएको छ ।