केयूका पुर्व रजिस्ट्रार सुवोध शर्मा सहित २० जना बैज्ञानिक तथा प्राविधिज्ञहरु नास्टबाट पुरस्कृत हुँदै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले काठमाडौ विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्रा.डा.सुबोध शर्मालाई १ लाख राशीको पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औं प्राज्ञसभाले शर्मा लगायतका २० बैज्ञानिक तथा प्राविधिज्ञ एवं विभिन्न संस्थाहरुलाई सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको हो ।
बैठक प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो । ४९ औं प्राज्ञ सभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । जस अनुसार २ लाख राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्यूट अफ एलाइड साइन्सेस्का डा. वसन्त पन्तलाई, २ लाख राशीको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुबोध शर्मालाई, १ लाख राशीको विज्ञान पुरस्कार वातावरण केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका डा. रमेश राज पन्तलाई, १ लाख राशीको प्रविधि पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुदन झा लाई प्रदान गरिने भएको छ ।
७५ हजार राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनालाई क्रमशः अन्नपूर्ण अनुसन्धान केन्द्रकी डा. सुष्मा पाण्डे, पक्लिहवा कृषि क्याम्पसका डा. मुक्तिराम पौडेल, काठमाडौं रिसर्च इन्स्टिच्यूट फर बायोलोजिकल साइन्सेसका डा. सागर अर्याल, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डा. निरज दाहाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका श्री विपिन्द्र पाण्डे लाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयकी डा. सोनी बराललाई प्रदान गर्ने निर्णय भएको छ । ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार २ जनालाई क्रमशः नेपाल गणित समाज र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई प्रदान गर्ने निर्णय भएको छ । ५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर मिडिया ग्रुपकी श्री कमला तामाङ (पाखिन) लाई प्रदान गर्ने निर्णय भएको छ । जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार २ जना क्रमशः जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयकी श्री सुजा महर्जन र सेन्ट जेभियस कलेजका श्री हरि अछामीलाई प्रदान गर्ने निर्णय भएको छ ।
१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार बैतडी (नार्कका पूर्व वरिष्ठ वैज्ञानिक) का डा. मदन राज भट्टलाई प्रदान गर्ने निर्णय भएको छ । २५ हजार राशीको मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार सौर्य विद्युत उत्पादक संघलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै २५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्रदान गर्ने निर्णय भएको छ । १ लाख राशीको हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ्ग पुरस्कार २ जना क्रमशः हुलास स्टिल इण्डष्ट्रिजका डा. छवि मिश्रा र नेपाल विद्युत प्राधिकरणका विष्णु प्रसाद देवकोटालाई प्रदान गर्ने निर्णय भएको छ ।
सभाले प्रतिष्ठानको आ.व. २०८१/२०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आ. व. २०८२र०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरुमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशिलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिए । प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले कार्यसूचीहरु अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गरेका थिए । प्राज्ञसभामा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा.डा. विजया पन्तले गरेकी थिईन् ।