१५ वटा पार्टीबीचको एकतालाई जनताले उत्साहसाथ अनुमोदन गरेः प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबीच वृहत् एकताको आवश्यकता रहेको भन्दै सहकार्यका लागि औपचारिक आह्वान गरेको छ ।

पार्टीले आज अपिल जारी गरेर १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरेको भन्दै सहकार्यका लागि अरु वामपन्थी शक्तिलाई अपिल गरेको हो । नेकपाले स्वतन्त्रता र अनुशासनको समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुने जनाएको छ ।

नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरुबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिने पनि नेकपाले अपिलमा भनेको छ । नेकपाले नवयुवाको आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटे पनि देशमाथीको संकट पूर्णरुपले हटिनसकेको बताएको छ ।

तर देशलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा चुनाव सम्पन्न गराउनु पर्ने कुरामा दृढ रहँदै आएको पनि नेकपाले बताएको छ । फरक प्रसंगमा संयोजक प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई व्यंग्य गर्दै सत्तामा पुगेर पनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका छन्।

ओली भदौ २४ गते प्रधानमन्त्री रहेकै अवस्थामा जेनजी आन्दोलनको क्रममा बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिएका थिए।

शनिबार दाङमा लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले चुनाव जितेर सत्तामा पुगे पनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ। ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेछ। मैले संसदको रोष्ट्रमबाटै भनेको थिएँ। बहुमतको धेरै दम्भ नदेखाउनुहोस् यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर,ु उनले भने, ुआज उहाँले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं। तर उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन।’

उनले लामो छलफल र संकल्पबाट १५ वटा पार्टीबीच एकता भएको बताए। त्यसलाई जनताले उत्साहसाथ अनुमोदन गरेको बताए। उनले फेरि पनि देश बनाउन वर्षौं संघर्ष र त्याग गरेका दलहरूबाट मात्रै सम्भव हुने बताए। सबैभन्दा बढी देशभक्त कम्युनिष्टहरू नै हुने दाबी गर्दै उनले २००६ सालदेखि जनआन्दोलनसम्म हजारौं सहिदको बलिदानी र त्यागबाट आजको परिवर्तन सम्भव भएको बताए।