फागुन २१ निर्वाचन: काभ्रेमा देखिएका यी हुन् सुरक्षा चुनौती

मोतीराम तिमल्सिना
धुलिखेल 
सरकारले निर्वाचन तालिका सार्वजनिक गर्दै दलहरुलाई निर्वाचनका लागि आब्हान गरे पनि प्रमुख राजनीतिक दलहरु त्यसमा तयार देखिएका छैनन । माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भनिए पनि सुरक्षा चुनौती देखाउँदै असंवैधानिक सरकारले गरेका कार्यक्रममा सहभागि नहुने उद्घोष गरिसकेका छन् । विशेषगरी नेकपा एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक मान्दै निर्वाचन अस्विकार गर्ने घोषणा गरेको छ । 
‘विघटित प्रतिनिधि सभा पुनस्र्थापना प्रमुख माग हो । यतिखेर निर्वाचन हुने सम्भावन छैन । सुरक्षाको समेत ग्यारेन्टी छैन । यस्तो चुनावमा भाग लिनुको कुनै अर्थ छैन’– एमाले नेता महेश बर्ताैलाले भने–‘सरकार चुनाव गराउने उदेश्यले गठन भएको छैन र होईन ।’ राज्यको सम्पत्तिमा आगो लगाउने, लुटपाट गर्ने र तोडफोड गर्ने खुलेआम धम्कि दिदै हिडिरहेका छन् । ब्यक्तिका नीजि घर र सम्पत्तिमा आगजनी गरी लुटपाट गर्नेहरु पनि खुलेआम छन् । प्रहरीका लुटिएका हतियार र गोलीगठ्ठा बाहिर छन् । जेलबाट भागेका ६ हजार भन्दा धेरै कैदीहरु खुल्ला छन् । यस्तो अवस्थामा कसरी हुन सक्छ शान्तिपूर्ण रुपमा चुनाव ? सुरक्षा निकायले पनि प्रश्न गरेको छ । सुरक्षा चुनौतीका बाबजुत निर्वाचन गराउनु पर्ने दायित्वबाट प्रहरी नभाग्ने स्पष्ट पारेको छ । तर उनै प्रहरीलाई मार्ने र प्रहरी चौकी जलाउनेहरु खुलेआम हिडिरहेकाले प्रहरीले मनोबल उच्च बनाउन सकेको छैन । 
काभ्रेमा कुल मतदाता ३ लाख १९ हजार १९  मतदाता कायम भएका छन् । यो प्रारम्भिक तथ्यांक हो । असोज १० देखि मसिंर ५ गतेसम्म ५ हजार ६ सय ९९ जनाले फोटो खिचाएका छन् । मृत्यु भएका, बसाई सराई तथा जिल्ला जिल्लामा जाने मतदाताको संख्या थपघट भए पछि प्रशोधित मतदाताको संख्या सार्वजनिक हुनेछ ।  राष्ट्रिय परिचय पत्रका आधारमा जिल्लामा ८ हजार ६ सय ३० जनाको नाम समावेश भएको छ । 
अति संवेदनशिल मतदान स्थल
हरेक वर्ष निर्वाचनमा हुन सक्ने सुरक्षा संवेदनशिलता फरक विषय हुने गरेको थियो । मतदान स्थल र मतदान केन्द्रलाई सुरक्षित बनाउन तयार गरिएको प्रहरी प्रतिवेदनले पनि २२ वटा मतदान स्थललाई अति संवेदनशिल मानेको छ ।
१ सय ९० वटा मतदान स्थल मध्ये सुरक्षा संवेदनशिलताका आधारमा अति संवेदनशिल २२ वटा रहेका छन् । प्रहरीले तयार गरेको प्रतिवेदनलाई जिल्ला सुरक्षा समितिले पास गरेर सिफारिस गरेको छ । त्यस्तै संवेदनशिल रहेका ६६ वटा मतदान स्थल छन् । सामान्य रहेका १०२ वटा छन् । कुल १ सय ९० वटा मतदान स्थल सुरक्षाको दृष्टिकोणले विश्लेषण गरिएको भए पनि प्राकृतिक प्रकोप संवेदनशितला पनि हेरिएको छ । जसमा जटिल ४२, मध्यम ७७ र सामान्य ७१ रहेका छन् । 
सक्रिय प्रहरी  
निर्वाचनको कार्यतालिका प्रकाशन भईरहेका बेला प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने चुनौती थपिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा अपराधिक समुहले प्रहरी कार्यालय जलाउँदै प्रहरीको हत्या समेत गरेर लुटिएका हातहतियार अझै फिर्ता हुन सकेको छैन । भागेका कैदीहरु फरार छन् । यो अवस्थामा पनि प्रहरीले नागरिकहरुलाई शान्ति सुरक्षा कायम गराउने प्रतिवद्धता सहित सक्रिय भएको छ । 
जिल्ला प्रहरी कार्यालय काभ्रेले चालु आर्थिक वर्षको चार महिनाको अवधीमा ५३ जना कैद तथा जरिवना तोकिएका ब्यक्तिहरुलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिव ६ सय ब्यक्तिहरुको सूचीका आधारमा ५३ जना पक्राउ गरिसकिएको सूचना अधिकारी एवं डिएस्पी रविन विष्टले जानकारी दिए । ‘चालु वर्षको साउन देखि कार्तिक मसान्तसम्म ५३ जना ब्यक्ति पक्राउ परेका छन्’–डिएस्पी रविन विष्टले भने–‘पक्राउ परेकाहरुबाट १२ वर्ष ८ महिना ७ दिन कैद र २ करोड ६७ लाख ५९ हजार ९ सय रुपैया जरिवना असुल भएको छ ।’ अदालतले प्रहरीलाई दिएको सूचीका आधारमा अझै ५ सय ४३ जना कैद तोकिएका ब्यक्ति अझै फरार छन् । यो विभिन्न अपराधमा कैद तथा सजाँय तोकिएका ब्यक्तिहरु हुन् । पक्राउ परेकाहरु मध्ये अभद्र ब्यवहारमा १, बैकिङ कसुरमा २३, चेक अनादारमा १४, ठगीमा १, लागु औषधमा २, सामुदायिक वन क्षेत्रको अवैद्य रुख कटानमा १, सरकारी छाप दस्तखत किर्तेमा १, लेनदेनका ३, झुटा विवरण पेश गरी नागरिकता लिएका ३, सवारी ज्यानमा १, बहुविवाह १, न्यून गुणस्तरको खाद्य पदार्थ विक्री गरेका १ र करार बमोजिम रकम दिलाउने अभियोगका १ छन् । 
जिल्ला प्रहरी कार्यालय काभ्रेले भदौ २४ गते जेलबाट भागेका पनि ५३ जना कैदीहरु पक्राउ गरिसकेको छ । समुदायमा त्यस्ता ब्यक्तिहरु भएको सूचना पाए तत्काल खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ । 
२० पक्राउ 
भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न मध्ये थप ५ जना पक्राउ परेका छन् । जेनजी आन्दोलनमा सहभागि भएका मध्ये अपराधमा संलग्न २० जना पक्राउ परिसकेका छन् । जिल्ला स्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन र सम्पतिमाथी तोडफोड आगजनी र लुटपाटमा संलग्न ५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए । आगजनी, तोडफोड र लुटपाटमा संलग्न धुलिखेल नगरपालिका–३ का अजय तामाङ, खानीखोला गाउँपालिका–१ का विशाल भोलन, बनेपा नगरपालिका–३ का रविन्द्र परियार, वडा नम्बर ८ का अभि सुद्धाकार र दोलखाको जिरी नगरपालिका–१ का भिम तामाङ पक्राउ परेका छन् । 
पक्राउ परेका मध्ये दुई जना विरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । खानीखोलाका विशाल भोलन विरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागु औषध मुद्दा दर्ता भएको छ भने बनेपा–८ का अभि सुधाकार विरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको छ । काभ्रे प्रहरीले आगजनी र तोडफोडमा संलग्नको खोजी कार्य तीव्र पारेको छ । यस अघि १२ जना जिल्लाबाट पक्राउ परेका छन् । राजधानी तथा विभिन्न जिल्लामा अपराधमा संलग्नहरु पनि पक्राउ परिरहेका छन् । पुनः प्रहरीले पनौतीबाट अजय खत्री केसी लगायत ६ जनालाई पक्राउ गरेको छ । 
काभ्रे जिल्ला ठेगाना भएका जेलबाट भागेका कैदीहरु – २७५ (फरार) 
– मकवानपुर हेटौडा कारागार  – १५ 
– सिन्धुली कारागारबाट – १
– डिल्लीबजार कारागारबाट – ४२
– जगन्नाथदेवल कारागार, केन्द्रीय कारागार – १४८
– नख्खु कारागारबाट – ६९ 
फैसला कार्यान्वन गर्नु पर्ने फरार कैद तोकिएका – ५ सय ४३ (विभिन्न अदालतबाट सजाँय तोकिएको) 
जेनजी आन्दोलनका नाममा विध्वंस मच्चाउनेहरु विरुद्ध परेको जाहेरीका आधारमा – १ सय ५० 
प्रहरीले आब्हान गरेको सूचनाका आधारमा तथ्य सहित प्रमाण संकलन भएका – करिव एक सय 
देशभरबाट लुटिएका हतियार मध्ये अझै ५ सय भन्दा धेरै खुल्ला । हजारौको संख्यामा गोली । 
मतदान स्थल (सुरक्षा संवेदनशिलता ) 
अति संवेदनशिल – २२ 
संवेदनशिल – ६६ 
सामान्य – १०२ 
कुल १ सय ९० 
प्राकृतिक प्रकोप संवेदनशितला 
जटिल – ४२
मध्यम – ७७
सामान्य – ७१