स्कोलियोसिस: मेरुदण्ड बाङ्गो हुने समस्या र उपचार
डा. राजेश कुमार चौधरी
स्कोलियोसिस भनेको के हो ?
समान्यतया पछाडीबाट हेर्दा मान्छेको ढाड सिधा हुन्छ । यदि यो दायाँ वा बायाँ बाङ्गिएको छ भने यसलाई स्कोलियोसिस भनिन्छ । यो ‘सि’ वा ‘एस’ आकारको हुनसक्छ । यो समस्या धेरै जसो बच्चाहरुमा देखिन्छ । स्कोलियोसिस हुनसक्ने कारणहरु विभिन्न किसिमका छन् । स्कोलियोसिस हुने कारणहरुलाई सरल रुपमा हेर्दा तीन भागमा विभाजन गरिएको छ ।
(क) जन्मजात मेरुदण्डको हड्डीको बनावट फरक भएर: यस किसिमको बाङ्गो पन कलिलो उमेरमा नै देखिन्छ । हड्डीको बनावट फरक भएकोले मेरुदण्ड एकापट्टीबाट बढ्ने र अर्को पट्टीबाट ढिलो बढ्ने वा नबढ्ने हुन सक्छ । यसले गर्दा मेरुदण्ड दायाँ वा बायाँ बाङ्गो हुन्छ । यो हड्डीको बनावट अनुसार चाँडो बढ्ने वा ढिलो बढ्ने हुन्छ । हड्डीको फरक बनावट एक्सरे वा सि.टी. स्क्यानको माध्यमबाट थाहा पाउन सकिन्छ ।
(ख) कुनै किसिमको मांसपेशी वा नसा सम्बन्धी समस्या भएमा: हाम्रो अस्थिपञ्जर यत्तिकै सिधा रहन सक्दैन यसलाई मांसपेशीले आधार दिनुपर्छ । मांसपेशीले राम्ररी काम गर्न त्यो मांसपेशीलाई सप्लाई गरेको नसा राम्रो अवस्थामा हुनुपर्छ । यदि मांसपेशी वा नसाको समस्या केही छ भने हाम्रो मेरुदण्डको सपोर्ट बलियो हुँदैन र यो बाङ्गो हुन जान्छ । यो मांसपेशी वा नसाको समस्या विभिन्न कारणले हुनसक्छ ।
(ग) यथार्थ कारण थाहा नभएको: यस किसिमको बाङ्गोपनमा हड्डीको बनावट पनि सामान्य हुन्छ र नसा वा मांसपेशी सम्बन्धी समस्या पनि हुँदैन । यो किन र कसरी हुन्छ भनेर विभिन्न सिद्धान्तहरु छन् तर यथार्थ कारण पनि पुष्टि भएको छैन ।
स्कोलियोसिका कारण निम्न समस्याहरु आउन सक्छन् । बाङ्गोपनको कारण कुरुप देखिने, मुटु अथवा श्वासप्रश्वास सम्बन्धी समस्या आउने, ढाड दुख्ने, नसामा असर पर्नाले कमजोरीपन हुने वा छोएको चाल नपाउने हुने लगायत आदि । यी मध्ये मुटु वा श्वासप्रश्वास सम्बन्धी समस्या आउने अलि समस्या हो र यो कस्तोमा हुनसक्छ भन्ने आधारमा दुई भागमा विभाजन गरिएको छ । १० वर्षको उमेर भन्दा पहिला देखिएको बाङ्गोपन, १० वर्षका उमेर भन्दा पछि देखिएको बाङ्गोपन, फोक्सोको विकास आठ वर्षको उमेर सम्म हुन्छ र यसको विकासको लागि छातीको आकार राम्रो हुनु जरुरी छ । जेसुकै कारणले ढाड बाङ्गो भएमा फोक्सोको विकास हुन नसक्नाले मुटु वा श्वासप्रश्वास सम्बन्धी समस्या आउँछ । जुन ज्यानलाई खतरा पनि हुन्छ सक्छ । त्यस कारण १० वर्षको उमेर भन्दा जति कम उमेरमा बाङ्गो पन देखियो त्यति नै खतरा हुन्छ साथै कम उमेरमा बाङ्गोपन देखिएमा बढ्ने उमेर धेरै बाँकी भएको कारणले पनि बाङ्गोपन धेरै बढ्ने सम्भावना हुन्छ । यस कारण पनि ढाडको बाङ्गो पनको पहिचान सकेसम्म चाँडै हुन जरुरी हुन्छ । स्कोलियोसिस भएको खण्डमा शरीरमा देखिने लक्षणहरु पछाडीबाट हेर्दा ढाड बाङ्गो हुने, एउटा कुम अर्को कुमको तुलनामा तल माथि हुने, पछाडी करङ्को भाग उठेको, करङ्ग र कम्मरको भाग दुबैतिर समानान्तर नभएको, कम्मर दायाँ वा बायाँ तलमाथि भएको, कम्मर माथिको शरीर कम्मरको तुलनामा दायाँ वा बायाँतिर सरेको देखिन्छ ।
माथि उल्लेखित लक्षणहरु ढाड धेरै नै बाङ्गो भएपछि देखिन्छ तर सुरुकै अवस्थामा पत्ता लगाउनको लागि आफ्नो बच्चालाई अगाडी निहुरिन लगाउने र आफू पछाडीबाट हेर्ने । यदि छातीको भागमा दायाँ वा बायाँ अर्को पट्टीको तुलनामा उठेको छ भने यो स्कोलियोसिस हुन सक्छ । स्कोलियोसिसको निदान साधारण एक्सरेबाट नै हुन्छ । सम्पूर्ण मेरुदण्ड एउटै एक्सरेमा आउने गरेर लिएको फोटोबाट स्कोलियोसिसको निदान हुन्छ । यही एक्सरेको आधारमा कति बाङ्गो छ ? सम्भावित कारण के हो ? कति बढ्नसक्छ वा कस्तो उपचार चाहिन्छ भन्ने निक्र्यौल गर्न सकिन्छ । दायाँ वा बायाँ ढल्केर लिएको एक्सरेले बाङ्गोपन कत्तिको कडा वा लचिलो छ, छुट्याउन सहयोग गर्छ । एक्सरेको अतिरिक्त सिटिस्क्यान वा एम.आर.आइ. गर्न पर्ने हुनसक्छ । कारण पत्ता लगाउनका लागि सँगसँगै हुनसक्ने अरु रोग पत्तालगाउनका लागि वा शल्यव्रिmया गर्नुपर्ने भयो भने त्यसको आधारमा अरु जाँचहरु गर्नुपर्ने हुनसक्छ ।
स्कोलियोसिको उपचार विधिलाई तीन तरिकाबाट विभाजन गर्न सकिन्छ । नियमित निगरानी, प्लाष्टर अथवा वेल्टको प्रयोग, शल्यव्रिmया, कुन किसिमको उपचार विधि अपनाउने भन्ने निर्णय तल उल्लेखित कुराहरुको आधारमा गर्न सकिन्छ ।
(क) वाङ्गोपन कत्तिको छ ?
(ख) विरामीको उमेर कति छ ?
(ग) के कारणले गर्दा वाङ्गो भएको हो ?
(घ) बच्चाको बढ्ने उमेर कति बाँकी छ ?
(ङ) मेरुदण्डको कुन भागमा बाङगोपन छ ?
(च) आदि ।
यदि बाङ्गोपन त्यति धेरै छैन भने चिकित्सकको परामर्श अनुसार नियमित समय अन्तरालमा चिकित्सकलाई देखाइ राख्नुपर्ने हुन्छ । यस अन्तर्गत बाङ्गोपन कुन दरमा बढीराखेको छ भन्ने हेरिन्छ र उपचार के गर्ने निर्णय लिइन्छ । दुई वर्ष उमेरतिर नै बाङ्गोपन भएको निदान भयो र बाङ्गोपन अलि बढी छ भने प्लाष्टरले पनि बाङ्गोपन सिधा गर्न सकिन्छ । नियमित समय अन्तरालमा प्लाष्टर परिवर्तन गर्दै बाङ्गोपन सिधा गर्न सकिन्छ । अलि बढी उमेरको बच्चामा अलि बढी बाङ्गोपन छ भने बेल्ट लगाएर पनि बढ्नबाट बचाउन सकिन्छ ।
यदि बाङ्गोपन अलि बढी नै छ भने चिकित्सकले शल्यव्रिmयाको सल्लाह दिनुहुन्छ र यो के कारणले गर्दा बाङ्गो भएको छ भन्ने कुरामा पनि आधारित हुन्छ । यदि बच्चाको बढ्ने उमेर छ भने मेरुदण्ड जाम नगरीकन नियमित समयअन्तरालमा बाङ्गोपनलाई सिधा गर्दै जाने शल्यव्रिmया गर्न सकिन्छ । हड्डीको बनावट फरक छ भने कस्तो खाले फरकपन छ त्यसको आधारमा एकैचोटीमा सिधा गर्ने शल्यव्रिmया गर्न सकिन्छ । बढ्ने उमेर त्यति बाँकी छैन भने मेरुदण्डलाई जति सिधा हुन्छ त्यति सिधा गर्ने र त्यो भन्दा बढी नबढोस भन्नका लागि शल्यव्रिmया माध्यमबाट मेरुदण्ड जाम गर्न सकिन्छ ।
स्कोलियोसिसको शल्यव्रिmया नेपालमा नै सम्भव छ । अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रमा विगत २५–३० बर्ष देखि विभिन्न बिधिबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी उपचार भैरहेको छ । यसका साथ साथै बि एण्ड बि अस्पतालमा पनिनियमित रुपमा यस्तो समस्याको उपचार भईरहेको छ । यस्तो खाले बाङ्गोपन सिधा गर्ने शल्यव्रिmयालाई जटिल शल्यव्रिmयाको रुपमा लिइन्छ । सबैभन्दा डरलाग्दो जोखिम भनेको नसामा असर परेर खुट्टा नचल्ने वा छोएको चाल नपाउने हुनु नै हो । तर अत्याधुनिक प्रविधिको प्रयोगबाट यो जोखिम कम गर्न सकिन्छ र शल्यव्रिmयाकै बेलामा नसामा असर पर्न लागेको छ कि थाहा पाउन सकिन्छ र नसामा असर पर्नलाई रोक्न सकिन्छ । यथार्थमा यो शल्यव्रिmयालाई सुरक्षित नै मान्न सकिन्छ ।
अन्त्यमा, मेरुदण्डको बाङ्गोपन हुने समस्या जति सुरुको अवस्थामा पहिचान गर्न सकियो त्यति उपचार गर्न सजिलो र सरल विधिबाट समस्या समाधान गर्न सकिन्छ त्यसैले सकेसम्म चाँडै नै चिकित्सकको सल्लाह लिएर उपचार गराउन जरुरी छ । (लेखक मेरुदण्ड शल्यचिकित्सक हुनुहुन्छ । हाल अपाङ्ग बाल अस्पताल तथा पुस्र्थापन केन्द्र (एचआरडिसी) बनेपा र बि एण्ड बि अस्पताल ग्वार्को ललितपुरमा कार्यरत हुनुहुन्छ ।)





