महाधिवेशनमा नेतृत्व चयनसँगै वैचारिक बहस हुने पृथ्वी सुब्बा गुरुङको दाबी

काठमाडौँ / नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा प्रशस्त वैचारिक छलफल हुने बताएका छन् ।

प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा उनले जनताको बहुदलीय जनवादलाई मार्ग निर्देशक सिद्धान्त मानेको पार्टीले सरकारको नेतृत्व गरिरहेका बेला सत्तापलट भएकाले पनि अब पुनः वैचारिक बहस आवश्यक रहेको बताएका हुन् ।

‘संसारभर कम्युनिष्ट शक्तिहरू कमजोर भएका बेला तथा कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेका सरकार कोल्याप्स भएका बेला नेपालले जनताको बहुदलीय जनवादको मार्ग निर्देशक सिद्धान्त प्रतिपादन गरेको थियो,’ उनले भने, ‘त्यस्तो पार्टीले नेतृत्व गरेको सत्ता किन पलट भयो ? यसबारे आगामी महाधिवेशनमा छलफल हुनेछ ।’

उनले सामान्यवादीहरूकै डिजाइनअनुसार केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको पनि बताए । भ्रष्टाचार बढी भयो भन्ने हल्ला चलाएर सत्तापलट गर्ने र निर्वाचन गराएर आफू अनुकूल सरकार बनाउने प्रयास साम्राज्यवादीहरूले गरिरहेको पनि उनले दाबी गरेका छन् ।