बनेपा नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड–२०८२ सम्पन्न, बेलरले हात पार्यो शिल्ड
बनेपा/स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, शिक्षा सँगै खेलकुद तथा खेलकुद सँगै शिक्षा, भन्ने मुल नाराका साथ बनेपा नगरस्तरीय सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा पुरस्कार वितरण २०८२ सम्पन्न भएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधी (शिल्ड) बेलर ईन्टरनेश्नल एकेडेमीले प्राप्त गरेको छ । उक्त विद्यालयले छैठौ राष्ट्रपति रनिङ शिल्ड पनि प्राप्त गरेको थियो । प्रातियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई वागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले पुरस्कार वितरण गरेका थिए । बादेले खेल खेल्नका मात्रै नभई स्वस्थ, अनुशासित, जिम्मेवारी र राष्ट्रका लागी भएको बताए ।
वागमती प्रदेशले समेत खेलकुदलाई विशेष प्राथकितामा राखेको बादेले बताए । बादेले मन्त्रालयकै पहलमा बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पसलाई प्रदेश मातहत आंगिक क्याम्पस बनाएको र बाँकि विद्यालयलाई भौतिक तथा शैक्षिक स्तोरन्नती गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।
प्रतियोगिता शुक्रबारबाट शुरु भई मंगलबार सम्पन्न भएको छ । प्रतियोगिता समापनको सभापतित्व नगर प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । शाक्यले खेल विद्यार्थीहरुको लागी अति महत्वपूर्ण विषय रहेको बताए । खेलले अनुशासित मात्र नभई स्वस्थ समेत बनाउने हुदाँ अनिवार्य रहेको बताए ।
नगरले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट ब्यबस्था गरेको र नगरबासीलाई स्वास्थ्य बनाउने उद्देश्य रहेको शाक्यले बताए । कार्यक्रममा उप प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, उप सचिव देवराज निरौला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
खेलमा १ सय, ४ सय, ८ सय, १ हजार, १ हजार ५ सय र ३ हजार मिटरका ज्याभलिन, त्रिपलजम्प लङजम्प, हाईजम्प, भलिबल, रिले, कबडी, सटफुट लगायतका खेलहरु समावेश गराईएको शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीले बताए । प्रतियोगितामा सामुदायीक र संस्थागत ३६ विद्यालयका २ हजार २ सय ९६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।






