उज्यालो संसार पर्खिरहेकाहरुको खुसी–अब आँखा देख्छ है बरिलै...
विकास तिमल्सिना
खानिखोलाका एकबहादुर थिङ बनेपा स्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा उपचार गराइरहेका छन् । केहि वर्षअघिदेखि उनको आँखामा समस्या थियो । तर आर्थिक अभावकै कारण उपचार हुन सकेन । उज्याले संसार हेर्ने रहर आर्थिक अभावले मारेको थियो । यहिबिचमा मंसिर दोस्रो साता गाउँमै निःशुल्क आँखा जाँच हुने खबर सुनेका थिङको मनमा एकाएक खुसी थपियो । माइला दाई भनेर समेत चिनिने थिङले गीत मार्फत खुसी व्यक्त गरे । निकै हर्षित देखिएका थिङले अस्पतालको बेडबाटै मिठो स्वरमा गीत गाएर सुनाए । उनको गीतको बोल थियो, भात खायो तिउन त करेलै, अब आँखा देख्छ है बरिलै… ।
उनी जस्तै माया गोले, शिरबहादुर थिङ लगायत ५० जना नयाँ संसार देख्ने रहरका साथ आँखा उपचार गराइरहेका छन् ।
जिल्लाको विकट क्षेत्र खानिखोला गाउँपालिकामा ३ दिने निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको थियो । नेपाल परिवर्तनशिल समाजको आयोजना, रुइत फाउण्डेशन र रेयूकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोग तथा खानिखोला गाउँपालिकाको सहजीकरणमा वडा नं. ६ र ७ मा आँखा परिक्षण शिविर आयोजना गरिएको हो । शिविर मार्फत ३ सय ९९ जनाले सेवा लिएका छन् । जसमध्ये ५० जनाको मोतियाविन्दु समस्या देखिएको छ ।
मोतियाविन्दु समस्या देखिएका विरामीहरुको रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । सहज स्वास्थ्य पहुँच नहुन, आँखा स्वास्थ्यको बारेमा चेतनाको अभाव, आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बढ्दो अमेर लगायतका कारण धेरैजसोमा आँखा समस्या रहेको देखिएको अस्पतालले जनाएको छ ।
खानिखोलामा लगातार तीन वर्षदेखि आँखा परिक्षण शिविर सञ्चालन गरिरहेको नेपाल परिवर्तनशिल समाजका अध्यक्ष क्षेत्र लामा वाइवाले जानकारी दिए । ६० जनामा मोतियाविन्दुको समस्या देखिएपनि १० जना भने चेतनाको अभाव, आँखाको ज्योति गुम्ने डर लगायतका कारण आउनै नमानेको वाइवाले बताए ।
विरामीलाई अस्पतालसम्म आइपुग्नको लागि गाउँपालिकाले गाडी भाडा उपलब्ध गराएको छ । यस्तै स्वास्थ्य संस्थामा कार्यरत ३ जना कर्मचारीले विरामीको रेखदेख गरिरहेका छन् । मिल्चे स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी सुदिन गोलेले सहज स्वास्थ्य पहुँच नभएका कारण रोग पालेर बसिरहेका विकट क्षेत्रका नागरिकका लागि आँखा परिक्षण शिविरलाई अवसरका रुपमा लिइएको बताए । भौगोलिक, आर्थिक लगायतका कारण उपचार सेवाबाट बन्चित नागरिकलाई आँखा उपचार शिविर मार्फत उज्याले फर्काउने अभियानमा अध्यक्ष वाइवाले बताए ।
अस्पतालका प्रशासकीय प्रमुख हिरामणी शर्माले ५ जनाको प्राविधिक टिम आँखा शिविरमा खटाइएको जानकारी दिए । अन्धोपन निवारणको क्षेत्रमा अस्पतालले विगत १८ वर्षदेखि काम गरिरहेको उनले बताए । धनुषाको ढल्केबरमा सर्जिकल सेन्टर रहेको छ भने ५ वटा आँखा उपचार केन्द्र मार्फत अस्पतालले आँखा परिक्षण सेवा उपलब्ध गराइरहेको छ । दृष्टि फर्काउने अभियानमा क्रियाशिल रहेको शर्माले बताए ।
अस्पतालमा उपचार गराइरहनुभएकी माया गोलेले ३÷४ वर्ष अगाडीदेखि नै आँखा उपचार गर्नुपर्ने भएपनि आर्थिक अभावकै कारण उपचार गर्न नपाएको गुनासो गरिन् । गरिवको लागि यो ठूलो अवसर भएको उनको भनाई थियो । स्थानीय शिरबहादुर थिङले पनि पैसा नभएकै कारण उपचार गर्न नसकेको बताए । उनले भने, पैसा भए त आजको आज नै उपचार हुन्छ नि, हामीसँग पैसा छैन । सबै खर्च जुटाएर हाम्रो निःशुल्क उपचार गरिदिनुभएकोमा धन्यवाद । निःशुल्क शिविर थिएन भने हामीले संसार देख्न पाउँदैनथ्यौं । गरिवलाई यस्तै उपचार चाहिएको उनले बताए । धेरै जना नेता भएपनि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी बाहेक बुढाबुढिलाई कसैले नहेरेको उनको गुनासो छ । भत्ता नदिएको भए वृद्धवृद्धाको जीउने आधार नै नरहेको भन्दै उनले मनमोहनपछि अहिले अस्पतालले सम्झिएको भन्दै खुसी व्यक्त गरे ।
टंकीमाया यसमाली गाउँमा निःशुल्क आँखा शिविर हुने खबरले खुसी हुनुभयो । उनको अहिले उपचार जारी छ । उज्याले संसार हेर्ने उनको रहर छ ।






