मधेशका मुख्यमन्त्रीले भोलि बिहानै विश्वासको मत लिने

झिसमिसेमा बर्दिवासको होटलमा मुख्यमन्त्री नियुक्त भएका एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत बुधबार बिहान साढे ८ बजे नै लिनु पर्ने भएको छ ।

मधेश प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे बैठक डाकिएको जनाएको छ । मुख्यमन्त्री यादवले मंगलबार प्रेस मिट गरेर विश्वासको मत बुधबार दिउँसो २ बजे लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाएको जानकारी दिएका थिए ।

प्रदेससभा सचिवालयले विश्वासको मतका लागि बिहानैको समय तोकेको छ ।
यसैबिच सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि मात्रै विश्वासको मत लिने भएका छन् ।

सर्वोच्चको निर्णयको पत्र सोमबार समयमै प्राप्त नभएकाले आज विश्वासको मत लिन नसकेको दाबी उनले गरेका छन्।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले मंगलबार राति ८ बजेसम्ममा विश्वासको मत लिनुपर्ने थियो।

तर, आज दिउँसो ३ बजे मात्रै आफूले प्रदेश प्रमुखबाट सर्वोच्चको पत्र प्राप्त गरेको भन्दै उनले अब बुधबार विश्वासको मत लिने बताएका हुन्।
आफ्नो कार्यालयमा सर्वोच्चको मेल नआएपछि प्रदेशसभा सचिवालयका सचिवलाई फोन गरेर सर्वोच्चको लिखित आदेश मागेको उनको भनाई छ।