अनेरास्ववियुको मेची–महाकाली विद्यार्थी जागरण यात्रा झापाबाट सुरू

अनेरास्ववियुले मेची–महाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ। झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीले अभियानको शुभारम्भ गरेका हुन्।

अनेरास्ववियुको झण्डा विद्यार्थीहरूलाई हस्तान्तरण गर्दै मंगलबार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ। अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष धामीले अनेरास्ववियुका विद्यार्थीहरुको काँधमा देश बचाउने जिम्मेवारी आएको बताएका छन्। उनले देशभित्र एकता भाँड्नेहरू विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए। युवाहरुलाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको उनले आरोप लगाए।

युवा विद्यार्थीहरुलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै उनले अनेरास्ववियुले देशमा आगो लगाउनेहरुका पक्षमा ताली बजाउन नसक्ने बताए।

कार्यक्रमका नेकपा एमाले कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताए।

भदौ २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको उनले बताए । अध्यक्ष खतिवडाले भावनामा बहकिएर युवा विद्यार्थीहरु कहिल्यै पनि दुरुपयोग हुन नहुने बताए।

अब देशलाई निकास दिन प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने बताउँदै खतिवडाले गौरीबहादुर कार्की आयोग खारेज गर्नुपर्ने, टीओबी लेखेर आन्दोलन गर्ने र आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।

यस्तै, अनेरास्ववियुको महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरुको कक्षा–कक्षामा पुग्ने बताइन्।