प्रहरी कार्यालयमा आगो लगाएर हतियार लुट्ने र भवन जलाउनेहरु धरौटीमा छुटे, अभियोग र अभियुक्तहरुको बयान
पक्राउ परेका सबैले अभियोग स्विकार गरे पछि साढे ५ करोडको क्षतिमा अदालतले ४ लाख ७० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
धुलिखेल/२०८२ भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको मौका छोपी काभ्रेका प्रहरी कार्यालयहरु आगजनी गर्ने, प्रहरीका हतियार र गोली गठ्ठा लुट्ने तथा पोशाक जलाउनेहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधिश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको छ । ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सोहि भवन बाहिर राखेका सवारी साधन समेत क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीको सडक खण्डमा रहेको प्रहरी विट, धुलिखेल नगरपालिका स्थित बसपार्कमा रहेको प्रहरी विट, बनेपामा रहेको प्रहरी विट तथा प्रहरीका लत्ता कपडामा आगजनी तथा तोडफोड गरी भवन भित्र भएका हतियार र गोली समेत लुटपाट तथा चोरी अभियोगमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले न्यायीक मनका आधारमा धरौटीमा छाड्न आदेश दिएको हो । पक्राउ परेकाहरु मध्ये साकार केसीलाई ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा साँ मुक्तान, रमेश तिमल्सिना, विशाल तामाङ भन्ने विशाल भ्लोन, अभि शुद्दाकार र भिम तामाङलाई जनही ३० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको छ भने अजय तामाङलाई २० हजार धरौटी माग गरेको छ । धरौटी बुझाएर सबै रिहा भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका सूचना अधिकारी अक्षय दनुवारले जानकारी दिए ।
प्रहरीले भिडियो र फोटो सहित पक्राउ परेकाहरुलाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । प्रहरी कार्यालयका सामानहरु सहित कम्प्युटर, प्रिन्टर सहित प्रहरी कर्मचारीका लत्ताकपडा, भौतिक तथा जिन्सी सामान, नीजि तथा सरकारी सवारी साधन समेत गरी ५ करोड ४२ लाख ७६ हजार ४ सय ६८ रुपैया क्षति भएको प्रारम्भिक मुल्यांकन निकालेको थियो ।
पक्राउ परेकाहरुले बयानमा के भने ?
१) प्रतिवादी अनिश सापकोटाको बयान:
मिति २०८२/०५/२४ गते अं. ११/१२ बजेको समयमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको तरकारी बजारबाट आन्दोलनमा जम्मा भएका आन्दोलनकारी साथीहरु कराउदै के पि चोर देश छोड भन्दै नारा लगाउदै बनेपाको बुडौलतर्फ आउदै थियो । सो समयमा म मेरो टिकटक लाईभमा भिडको बिच–बिच देखाउदै थिए । सो भिड बनेपा बुडौलको एमाले पार्टी कार्यालयमा गयो । सो स्थान सम्म टिकटक लाईभ मा नै थिएं । एमालेको पार्टी कार्यालय तोडफोड गरी सकेपछि म समेतको भिड बनेपाको चारदोबाटो तर्फ लागेको हौं । म पनि सो भिडमा नारा लगाउदै टिकटक लाईभ गर्दै गएको हुँ । बनेपाको चार दोबाटो बाट हामी नारा लगाउदै बनेपाको गोदामचोक हुँदै बसपार्क हुँदै पुन्यमती खोलाको कोरीडोर हुँदै कांग्रेस पार्टी कार्यलय पुगेर सो कार्यालय तोडफोड गरेका हौं । त्यस पछि नगरपालिका कार्यालयमा ढुंगा हानेको हो । सो पश्चात जिल्ला ट्राफिक कार्यालय तिर गएका हौं । सो स्थानमा पुग्दा मेरो मोवाईलको ब्याट्री सकियो मैले मेरो मोबाईलमा टिकटक लाईभ बन्द गरें । आन्दोलनमा रहेका साथीहरुले जिल्ला ट्राफिका कार्यालय जलाए, सो कार्यमा मेरो पनि संलग्नता रहेको छ । । सो स्थानबाट आन्दोलनमा रहेका आन्दोलनकारी साथीहरु ईलाका प्रहरी कार्यालय बनेपा तिर लागे । सो दिन अं. २/३ बजेको आसपासमा ईलाका प्रहरी कार्यालय बनेपामा ढुंगा हानाहान भयो । सो समय पछि भिड पुनः नगरपालिकाको कार्यालय तर्फ गयौं र नगरपालिकाको कार्यालय तोडफोड तथा आगजनी गरी सकी सो भिड पुनः ईलाका प्रहरी कार्यालय बनेपा तर्फ लागेको हो । अं. ३/४ बजेको समयमा ईलाका प्रहरी कार्यालय तोडफोड गरी आगो लगाई कोठा–कोठा भित्र पसी ब्यारेक भित्र रहेको लत्ता लत्ता कपडा समेत आगो लगाई सो कार्यालयको हतियार हरु रहेको कोठामा रहेको गोली समेत आन्दोलमा रहेका आन्दोलनकारी साथीहरुले लगेको हो । सो बखत कोही गोली बोकेर कोही इलाका प्रहरी कार्यालय भित्रबाट प्रहरीको सामान हातमा बोकी हिड्दै थिए । यसैगरी बनेपा पनौती समेतमा रहेको सरकारी भवनहरु समेत म समेतका मानिसहरु भई आगजनी तथा तोडफोड गरी क्षती गरेका हौं ।
२) प्रतिवादी काले भन्ने समीर तामाङको वयान :
मिति २०८२/०५/२४ गते म घरमा रहँदा आन्दोलनको खबर सुने । म मेरो घरबाट धुलीखेल खड्पुको बाटो हुँदै बनेपा आएँ । मैले मेरो साथीहरुलाई सम्पर्क गरें तर कसैले पनि मेरो फोन उठाएनन् । सो पश्चात मेरो मोटर साईकल लाई मैले अध्यायन गर्ने कलेज अगाडी राखेर बनेपाको चारदोबाटोमा अं ११/१२ बजेको समयमा पुगे । उक्त स्थानमा पुग्दा आन्दोलनमा भएका मानिसहरु बनेपाको तीन दोबाटोतर्फ जाँदै थिए र म पनि सो आन्दोलनमा छिरें । सो आन्दोलन बनेपाको पुल बजार घुमेर ईलाका प्रहरी कार्यालय बनेपाको भवनतर्फ लागेको हो । सो प्रहरी कार्यालयमा पुगे पछि प्रहरीले अश्रु ग्यास हान्यो एकछिन हामी लुक्यौं । सो स्थानमा ढुंगा हानाहान हुदै थियो सबैजनाले बनेपाको नगरपालिका जाने भनि हामी नगरपालिकाको भवन तर्फ लाग्यो । मैले नगरपालिका भवनको ढोकामा २÷४ लात्ती हानेको । सो कार्यालय पनि जलाई राखेको थियो । नगरपालिकाको भवन जलाई सकेपछि बनेपाको चारदोबाटोमा रहेको प्रहरीको बिट समेत जलाई दिएको हो । ईलाका प्रहरी कार्यालयको बनेपाको बनेपा, जिल्ला ट्राफिक कार्यालय बनेपा, प्रहरी बिटहरु, सरकारी कार्यालय तथा सो कार्यालय भित्र रहेको कागजात समेत आन्दोलनकारीहरुले तोडफोड तथा आगजनी गरी क्षति गराएका हुँन । सो कार्यमा पक्राउमा परी दाखिला हुँन आएका ब्यक्तिहरु पनि समावेश भएका हौं । बनेपाको कार्यालयहरु आगजनी गरी सकेपछि पनौतीको प्रहरी चौकी तथा बिट समेतमा तोडफोड गरेका हौ ।
३) प्रतिवादी सुमन के.सी. को वयान:
मितिः २०८२/०५/२४ गते बिहान खाना खाएर ०९ः३० बजेको समयमा म पनौती बजारमा गएँ । सो स्थानमा अघिल्लो दिन भएको आन्दोलनमा मृत्यु भएका ब्यक्तिहरुको श्रदाञ्जली र शान्तीपुर्वक जुलुस गर्ने भनेर अन्य मानिसहरु तयारीमा थिए । म पनि सो जुलुसमा समावेश भएं । पनौती बजारमा अं. २ घण्टा जती शन्तीपुर्वक आन्दोलन गरी बनेपामा यसै गरी आन्दोलन आगजनी र तोडफोड भएको खबर सुनेपछी पनौती बजारमा भएको प्रहरी बिट तोडफोड गरेका हौं । सो घटनामा म समेतका मानिहरु संलग्न भएका हौ । सो पश्चात ईलाका प्रहरी कार्यालय बनेपा तथा चार दोबाटोमा रहेको प्रहरी बिट समेतमा तोडफोड तथा आगजनी गरेका हौं । ईलाका प्रहरी कार्यालय बनेपा समेत तोडफोड तथा आगजनी गरी सो कार्यालय भित्र रहेको प्रहरीको कपडा समेत लिई गएको हो । सो कार्यालय बाहिर रहेको सबारी साधन समेतमा आगजनी गरी क्षती पुयाएका हौ मलाई देखाईएको भिडियोमा रहेको कालो भेष्ट, कालो पाईन्ट तथा टाउकोमा चस्मा, सेतो रङको चप्पल लगाएको ब्यक्ति म सुमन के.सी. हुँ । मैले राष्ट्रिय झण्डा बोकेको छु । सो भिडियोमा मैले दाँहिने हातको औंला माथि उठाई साथीहरुसँग कराउदै चिच्याउदै रहेको छु सो भिडियोमा देखिएको ब्यक्ति म नै हुँ
४) प्रतिवादी बिशाल तामाङ भन्ने बिशाल भोलनको वयान :
मिति २०८२/५/२४ गते दिनको अं १५ः३० बजेको समयमा बनेपाको धनेश्वर देखि बनेपा आएँ सो ठाउँमा आउँदा बनेपा नगरपालिकाको भवनमा आगो लागिरहेको थियो । सो स्थानमा मैले ढुंगा हानेको हुँ । ढुंगाहानी सकेपछि मैले सो नगरपालिका बाहिर आगो लागिरहको अबस्थामा मैले भिडियो बनाएँ । सो पश्चात म आन्दोलनमा रहेका मानिसहरुसँग बनेपामा रहेको ईलाका प्रहरी कार्यालयमा पनि गएको हुँ । सो स्थानमा ईलाका प्रहरी कार्यालय आगजनी गराई तोडफोड गरेको हौं । सो कार्यालय भित्रबाट म संगै पक्राउमा परी दाखिला हुन आएका रबिन्द्र परियारले सो प्रहरी कार्यालयको कौशीबाट प्रहरीले प्रयोग गर्ने कपडाहरु कार्यालयको बाहिर फालेका हुँन । सो ईलाका प्रहरी कार्यालय बाहिर रहेको सवारी साधनमा आगो लगाई दिई क्षति बनाएको हौं । सो कार्यालयको पनि मैले मेरो मोवाईबाट भिडियो बनाएँ । सो पश्चात म संगै पक्राउमा परी दाखिला हुँन आएका आन्दोलनमा आएका साथीहरु पनौतीमा गई प्रहरी चौकी तथा प्रहरीको बिटमा आगजनी र तोडफोड गरेको हौं । ईलाका प्रहरी कार्यालय आगजनी गर्नु भन्दा पहिले बनेपाको चार दोबाटोमा रहेको प्रहरी पोष्ट पनि तोडफोड गरी आगो लगाएको हौ मिसिल संलग्न मिति २०८२/०५/१५ गतेको प्रहरी प्रतिवेदन साथ पेश भएको ५ वटा तस्बिर मध्ये पाँचौ नम्बरको तस्विर मेरो हो । पेनड्राईभमा देखिएको इलाका प्रहरी कार्यालय अगाडी उभिएको पहेलो पाली भएको क्याप लगाउने व्यक्ती म हुँ । म संगै पक्राउ परी दाखिला हुँन आएका अनिश सापकोटा समेत म संगै पक्राउमा परी दाखिला हुन आएका सबैलाई चिन्दछु भन्ने समेत प्रतिवादी बिशाल तामाङ भन्ने बिशाल भोलनको बयान ।
५) प्रतिवादी साकार के.सी.को वयान:
मिति २०८२/०५/२४ गते बिहान खाना खाएर १२ः०० बजेको समयमा घरबाट बनेपा पुलबजारमा आउँदै गर्दा सो स्थानमा अन्य मानिसहरु भई जुलुस गरिरहेको र मलाई पनि उक्त जुलुसमा संलग्न गराई सो स्थानमा अघिल्लो दिन भएको आन्दोलनमा मृत्यु भएका ब्यक्तिहरुको श्रदाञ्जली र शान्तीपुर्वक जुलुस गर्ने भनेर अन्य मानिसहरु तयारीमा थिए । म पनि सो जुलुसमा समावेश भएँ । त्यसपछी हामीहरु जुलुस गर्दै बनेपा रेशममार्ग हुँदै बनेपा इलाका प्रहरी कार्यालयमा गई जुलुस गर्दा प्रहरीले अश्रु ग्यास हानेका थिए । हामीहरुले ढुङगा हान्दै गर्दा अश्रु ग्यासको धुवाँले गर्दा मलाई स्वास्थ्यमा केही समस्या भएकोले म सो स्थानबाट केही पर गई बसी पुनः सोही इलाका प्रहरी कार्यालमा जाँदा अन्य साथीहरुले इलाका प्रहरी कार्यालय बनेपाको भवनमा आगो लगाई भवन भित्र रहेको सामान समेत निकाली जलाई रहेकोमा उक्त स्थानमा रहेको प्रहरीको पोशाकहरु मध्ये मैले म्क्ए को फुलि भएको प्रहरीको पोसाक लगाएको थिएँ । म समेतले सो कार्यालय अगाडी पार्किङ गरी राखको मोटरसाईकलहरु समेत आगो लगाई जलाई क्षति गरेका थियौ मलाई उक्त पेन ड्राईभमा देखाईएको भिडियो देखाउदा हेरी चिनें । कालो ज्याकेट र कालो क्याप मैले ईलाका प्रहरी कार्यालय बनेपाको कार्यालय भवन बाट ल्याएको हुँ । म संगै प्रहरीको कालो छडी बोकेर म संगै बोल्दै हिड्ने ब्यक्ती अनिश सापकोटा हुन भन्ने समेत व्यहोराको प्रतिवादी साकार के. सी. को बयान ।
६) प्रतिवादी सुवास तामाङको बयानः
मिति २०८२/०५/२४ गते अं. १३ः३० बजेको समयमा म बनेपाको नालाबाट खाजा खान भनि बनेपा तर्फ आउदै थिएँ । म ईलाका प्रहरी कार्यालय बनेपा निज आउदै गर्दाको अबस्थामा आन्दोलन भईरहेको रहेछ । मलाई सो स्थानमा रहेका मानिसहरुले आन्दोलन गरेको देखी मलाई पनि लहै लहैमा लागेर आन्दोलनमा सहभगी भएको हुँ । सो स्थानमा रहेको इलाका प्रहरी कार्यालय बनेपाको भवन समेत जलायौं । कार्यालय भवन जल्दै गर्दाको बखत साकार के.सी. ले ईलाका प्रहरी कार्यालय भवनबाट ल्याएको डि.एस.पि. को दर्जा भएको जाकेट लगाएका हुँन । सो कार्यालय भवने भित्र रहेको प्रहरीको हतियारमा प्रयोग हुँने गोली समेत आन्दोलनमा आएका केटा केटी तथा मानिस हरु समेतले लगेका हुँन । सो अबस्थामा कोहीले प्रहरीको कपडा,बुट तथा अन्य सामान समेत लगेका हुँन सो कार्यालय भवन बाहिर रहेको गाडी समेतमा आगो लगाई क्षति बनाएको हो । यसै गरी काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा चारदोबाटोमा रहेको प्रहरी बिट, ट्राफिक प्रहरी कार्यालय तथा पनौतीमा रहेको प्रहरी चौकी तथा सो बजार मा रहेको प्रहरी बिट समेतमा तोडफोड तथा आगजनी गरी क्षति बनाएको हौं मिसिल संलग्न तस्वीहरु मलाई देखाई हेराउदा हेरें देखें। नोलि हाफ ज्याकट लगाएको र कालो लामो बाहुला भएको भेष्ट लगाउने ब्यक्ति सुवास तामाङ नै हुँ भन्ने समेत व्यहोराको प्रतिवादी सुवास तामाङको बयान ।
७) प्रतिवादी अजय तामाङको बयान:
मिति २०८२/०५/२४ गते बिहान अं. ०८ः०० बजेको समयमा उठी धुलिखेलमा शान्तीपूर्ण आन्दोलन गर्ने भनि मौखिक जानकारी पाएकोले म धुलिखेलमा गई आन्दोलन गरी बनेपा फर्कने क्रममा बनेपा स्थित रहेको बनेपा नगरपालिका जलेको भिडियो मोबाईलमा देखि म समेत मेरो साथीहरु उक्त स्थानमा जान लाग्दा बनेपा चारदोबाटोमा झडप भैरहेकोले म समेत उक्त स्थानमा गई सो भिडमा संलग्न भई बनेपा बुडौलको एमाले पार्टी कार्यालयमा गई तोडफोड गरी सकेपछि म समेतको भिड बनेपाको चारदोबाटो तर्फ लागेको हौं । बनेपाको चार दोबाटोमा रहेको प्रहरी बिट तोडफोड गरी आगो लगाई हामी नारा लगाउँदै बनेपाको गोदामचोक हुँदै बसपार्कबाट पुन्यमती खोलाको कोरीडोर हुँदै कांग्रेस पार्टी कार्यलय पुगेर सो कार्यालय तोडफोड गरेका हौं । त्यस पछि नगरपालिका कार्यालयमा ढुंगा हानेको हो । सो पश्चात जिल्ला ट्राफिक कार्यालय तिर गएका हौं । म समेतका आन्दोलनमा रहेका साथीहरुले जिल्ला ट्राफिक कार्यालय जलाए, सो स्थान बाट आन्दोलनमा रहेका आन्दोलनकारी साथीहरु ईलाका प्रहरी कार्यालय बनेपा तिर लागे । सो दिन अं. २/३ बजेको आसपासमा ईलाका प्रहरी कार्यालय बनेपामा ढुंगा हानाहान भयो । सो समय पछि भिड पुनः नगरपालिकाको कार्यालय तर्फ गयौं र नगरपालिकाको कार्यालय तोडफोड तथा आगजनी गरी सकी सो भिड पुनः ईलाका प्रहरी कार्यालय बनेपा तर्फ लागेको हो ।
अन्दाजी ३/४ बजेको समयमा ईलाका प्रहरी कार्यालय तोडफोड गरी आगो लगाई कोठा–कोठा भित्र पसी ब्यारेक भित्र रहेको लत्ता कपडा समेत आगोलगाई सो कार्यालयको हतियारहरु रहेको कोठामा रहेको गोली समेत आन्दोलमा रहेका आन्दोलनकारी साथीहरुले लगेको हो । सो बखत कोही गोली बोकेर कोही इलाका प्रहरी कार्यालय भित्रबाट प्रहरीको सामान हातमा बोकी हिँड्दै थिए । यसैगरी बनेपा पनौती समेतमा रहेको सरकारी भवन हरु समेत म समेतका मानिसहरु भई आगजनी तथा तोडफोड गरी क्षती गरेका हौँ मलाई बिभिन्न तस्वीर हरु देखाउदा मिसिल संलग्न मितिः २०८२/७/१५ बते प्रहरीको प्रतिवेदन साथ पेश गरेको तस्वीर हरु मध्ये पाना नं. १ मा देखिएको घोप्टो अवस्थामा ट्राफिकको डिभाईडर उठाउन लागेको फोटो मेरो हो, पेनड्राईभमा मलाई देखाईएको भिडियोमा कालो पाईन्ट टि सर्ट लगाएको घाँटीमा नेपालको झण्डा लगाएको भिडियोमा देखिएको भिडियो मेरो हो भन्ने समेत व्यहोराको प्रतिवादी अजय तामाङको बयान ।
८) प्रतिवादी रविन्द्र परियारको बयानः
मिति २०८२/५/२४ गते अं. ४/साँढे ४ बजेको समय तिर बनेपाको गोदामचोकबाट रङ लगाउने काम बाट फर्किरहेको थिएँ । सो समयमा आन्दोलन भईरहेको थियो । हाम्रो उमेर समुहले देशको लागि गरेको आन्दोलनमा किन सरिक नहुने भनि म पनि सो आन्दोलनमा सरिक भएँ । सो पश्चात बनेपाको चार दोबाटोमा रहेको प्रहरी बिटलाई तोडफोड गरी आगजनी गयौं । जिल्ला ट्राफिक कार्यालय पनि तोडफोड गरी आगजनी ग¥यौं । त्यस पछि ईलाका प्रहरी कार्यालय बनेपा गयौं । सो स्थानको प्रहरी कार्यालय भवन तोडफोड तथा आगजनी ग¥यौं, सो बखत मैले सो कार्यालयको झ्यालबाट प्रहरीको कपडा तथा सामान बाहिर फालें । सो कार्यालय परिसर बाहिर राखेको सवारी साधनमा समेत आगोलगाई दिएको हौं । सो कार्यालयको भवन भित्र पसी प्रहरीको पोशाक बुट समेतमा आगजनी ग¥यौ । कार्यालय भित्र रहेको कागज पत्रमा समेत म समेत संगै पक्राउमा परी दाखिला हुँन आएका मानिसहरुले गरेको हौं । कोहीले सो कार्यालय भित्र रहेको गोली, कोहीले प्रहरीको पोशाक समेत लिएर गएका हौं । बनेपा प्रहरी कार्यालय तोडफोड तथा आगजनी गरे पछि बनेपा चार दोबाटोमा रहेको प्रहरी विट पनि तोडफोड गरी आगजनी गरेको हौं । त्यहाँबाट आन्दोलन सँगसँगै पनौतीमा रहेको प्रहरी चौकी, पनौती बजारमा रहेको प्रहरी बिट तोडफोड तथा आगजनी गरी क्षति गराएका हौं । सो समेतको कार्य म समेतको संलग्नता भएको हो । सो पश्चात म आफ्नो घर गएको हुँ मलाई सो भिडियो देखाई हेराउदा देखें हेरें, सो भिडियोमा म रहेको छु । ईलाका प्रहरी कार्यलाय बनेपाको कार्यालय भवन तोडफोड तथा आगजनी गर्दाको समयमा सो कार्यालयको भवनको झ्यालबाट प्रहरीको कपडा ताथा सामान बाहिर फाल्ने व्यक्ती म रबिन्द्र परियार नै सो कार्यालयको भवन तोडफोड तथा आगजनी कार्यमा म समेतको संलग्नता रहेको छ । सो कार्यालय बाहिर रहेको सावरी साधन, भवन भित्र रहेको प्रहरीको कपडा समेत आगजनी गरेका हौं भन्ने समेत ब्यहोराको रविन्द्र परियारको बयान ।
९) प्रतिवादी ङेमा साँ मुक्तानको बयान:
मिति २०८२/०५/२४ गते अं. १०/११ बजेको समयमा घरयासी सामान लिन भनि जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको चारदोबाटमा गएको अवस्थामा उक्त स्थानमा आन्दोलनकारी साथीहरु कराउदै के पि चोर देश छोड भन्दै नारा लगाउँदै बनेपाको बुडोल तर्फ गई सो बुडोलमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गरी सकेपछि म समेतको भिड बनेपाको चारदोबाटो तर्फ लागेको हौं । बनेपाको चारदोबाटोमा रहेको प्रहरी बिट तोडफोड तथा आगजानी गरी सो पश्चात नारा लगाउदै बनेपाको गोदामचोक हुँदै बसपार्क हुँदै पुन्यमती खोलाको कोरीडोर हुँदै कांग्रेस पार्टी कार्यलय पुगेर सो कार्यालय तोडफोड गरेका हौं । त्यस पछि नगरपालिका कार्यालयमा ढुंगा हानेको र सो पश्चात जिल्ला ट्राफिक कार्यालय तिर गएका हौं । आन्दोलनमा रहेका साथीहरुले जिल्ला ट्राफिका कार्यालय जलाए, सो कार्यमा मेरो पनि संलग्नता रहेको छ । सो स्थानबाट आन्दोलनमा रहेका आन्दोलनकारी साथीहरु ईलाका प्रहरी कार्यालय बनेपा तिर लागे । सो दिन अं. २/३ बजेको आसपासमा ईलाका प्रहरी कार्यालय बनेपामा ढुंगा हानाहान भयो । सो समय पछि भिड पुनः नगरपालिकाको कार्यालय तर्फ गयौं र नगरपालिकाको कार्यालय तोडफोड तथा आगजनी गरी सकी सो भिड पुनः ईलाका प्रहरी कार्यालय बनेपा तर्फ लागेको हो । अं. ३/४ बजेको समयमा ईलाका प्रहरी कार्यालय तोडफोड गरी आगो लगाई कोठा–कोठा भित्र पसी ब्यारेक भित्र रहेको लत्ता लत्ता कपडा समेत आगो लगाई सो कार्यालयको हतियारहरु रहेको कोठामा रहेको गोली समेत आन्दोलमा रहेका आन्दोलनकारी लगेका हुन । यसै गरी बनेपा पनौती समेतमा रहेको सरकारी भवन हरु समेत म समेतका मानिसहरु भई आगजनी तथा तोडफोड गरी क्षती गरेका हौँ मलाई उक्त पेन ड्राईभमा भएको भिडियो देखाउदा देखें हेरें जसमा जस्ताको बार नजिक पहेंलो भेष्ट लगाई अलि झुकेर दौडन लागेको तस्बीर मेरो हो मै देखी हेरी चिन्ही सनाखत गरिदिएँ र मिसिल साथ संलग्न रहेको पाना नं. १ को पहेलो हाफ टिसर्ट लगाएको व्यक्ती म नै हुँ मलाई देखाईएको मोटरसाईकल माथी लाठ्ठी प्रहार गर्दै गरेको भिडियो मेरो हो । खैरो बुट्टे सर्ट लगाएका व्यक्ती होम प्रसाद तिमल्सिना, लामो कपला र ज्याकेट लगाएका सुबास तामाङ र प्रहरी टोपी र कालो ज्याकेट लगाएका साकार के. सी. हुन भन्ने समेत ब्यहोराको ङेमा साँ मुक्तानको बयान ।
१०) प्रतिवादी होम प्रसाद तिमल्सिना भन्ने रमेश तिमल्सिनाको बयानः
मिति २०८२/०५/२४ गते बिहान म धुलिखेलमा थिएँ । धुलिखेलबाट १२/१ बजेको समयमा पैदल डिड्दै बनेपा गएँ सो स्थानमा आन्दोलन भईरहेको रहेछ । सो स्थानको चार दोबाटोमा म समेतका मानिसहरुले सो स्थानमा भएका प्रहरीको बिट तोडफोड गरी आगो लगाई दिई क्षति गराएको हो । सो स्थानबाट आन्दोलनमा नारा लगाउदै ईलाका प्रहरी कार्यालयमा गएँ । सो स्थानमा अनिश सापकोटा समेतका मानिसहरु ईलाका प्रहरी कार्यालय बनेपाको भवन भित्र बाट प्रहरीको कपडा तथा सामान हरु सो कार्यालयको झ्याल बाट बाहिर फालिरहेका थिए । रबिन्द्र परियारले कार्यालयको अगाडीको झ्यालबाट सामान बाहिर फालिरहेका थिए । सो कार्यालय बाट निकालिएको सामान तथा कपडा समेत आन्दोलनमा रहेका मानिसहरुले लगाएका पनि हुन । सो कार्यालयबाट प्रहरीको गोली समेत आन्दोलनमा रहेका आन्दोलनकारीहरुले लगेका हुँन । म संगै पक्राउमा परी दाखिला हुन आएका साकार के.सी.ले डि एस पि को फुली भएको जाकेट लगाए । निज संगै प्रहरीले बोक्ने कालो छडी बोकी संगै हिड्ने अनिस सापकोटा हुन । यसै गरी पनौतीमा रहेको चौकी तथा पनौती बजार रहेको प्रहरी बिट समेत तोडफोड गरी आगजनी गर्ने कार्यमा म समेतको संलग्नता रहेको छ मलाई उक्त पेन ड्राईभमा भएको भिडियो देखाउदा हेरें, सो भिडियोमा बनेपा चारदोवाटोमा रहेको प्रहरी विट अगाडी घिउ रङको सर्ट, निलो, कालो सानो सानो बुट्टा भएको सर्ट र कालो हाफ पाईन्ट लगाएको व्यक्ति म नै हुँ । म सो भिडियोमा छु भन्ने समेत ब्यहोराको होम प्रसाद तिमल्सिना भन्ने रमेश तिमल्सिनाको बयान ।
११) प्रतिवादी अभि सुद्दकारको बयानः
मिति २०८२/०५/२४ गते म घरमा खाना खाई आन्दोलनमा गएं । म समेतको मानिसहरुले बनेपाको नगरपालिका कार्यालयमा ढुंगा हानी तोडफोड गरेको हो । सो पश्चात म समेतका मानिसहरुको संलग्नतामा बनेपा चारदोबाटोमा रहेको प्रहरी बिट, ट्राफिक प्रहरी कार्यालयको भवन तोडफोड गरी सो भवन भित्र रहेको प्रहरीको कपडा तथा सर–सामान समेत मा आगो लगाई क्षति बनाएको हो । सो पश्चात हामी सबै आन्दोलनमा रहेक मानिसहरु इलाका प्रहरी कारयालय बनेपामा गई सो कार्यालय तोडफोड कार्यालय भित्र रहेको प्रहरीले प्रयोग गर्ने कपडा समेतमा आगजनी गरी क्षति बनाएको हो । सो कार्यालय आगजनी गरे पश्चात मैले प्रहरीले प्रयोग गर्ने निलो सर्टको बायाँ पट्टी तारा भएको सर्ट, कालो पेटी र छडी मैले लगाई हिडेको हुँ । उक्त कार्यालयहरु तोडफोड गर्ने कार्यमा म समेतको संलग्नता रहेको छ मलाई बिभिन्न तस्वीर हरु तथा भिडियो देखाउदा देखी पाएँ। जसमा ईलाका प्रहरी कार्यालय बनेपाबाट मैले ट्राफिक प्रहरिले प्रयोग गर्ने टोपी, प्रहरीको निलो सर्टको बाँया पट्टी कुममा तारा भएको सर्ट, दाहीने हातमा कालो छडी, कम्मरमा प्रहरीको बेल्ट, र मेरो फेसमा नेपालको राष्ट्रिय झण्डालाई मास्कको रुपमा प्रयोग गरी र दाहीने हातमा टर्च बोकेको थिएँ । उक्त ब्यक्ति म नै हुँ । भन्ने समेत ब्यहोराको अभि सुद्दकारको बयान ।
१२) प्रतिवादी भिम तामाङको बयानः
मितिः २०८२/०५/२४ गते अं. १४ः०० बजेको समयमा सो ग्यारेजबाट धुलिखेलमा रहेको मेरो डेरा आउदै गर्दाको अबस्थामा बनेपा एरियामा आन्दोलन हुँदै थियो । सो आन्दोलनमा म पनि सहभागी भएँ । यसरी म समेतको आन्दोलन कर्ताले बनेपाको नगरपालिकाको कार्यालय, बनेपाको चार दोबाटोमा रहेको प्रहरीको बिट समेत जलाएका हौं । सो दिन बेलुकाको समयमा पानी पर्यो । पानी परेपछि बनेपाको चारदोवाटोबाट ईलाका प्रहरी कार्यालय बनेपा तर्फ लागेको हो । सो स्थानमा आगो बाली सो कार्यालयको भवन तथा कार्यालय भित्र भएको सामानहरु कार्यालय बाहिर फाली सो सामानमा आगो लगाएको हौं । उक्त कार्यालय बाहिर राखिएको सवारी साधनमा समेत आगो लगाई दिएको हो । इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक कार्यालयको भवन तोडफोड गरी सो भित्र रहेको प्रहरीको कपडा समेतमा आगो लगाई दिएका हौं । सो कार्यमा म समेतको संलग्नता कार्यालय तोडफोड गरी आगजनी गरेको हो मलाई बिभिन्न तस्वीर हरु तथा भिडियो देखाउदा देखी पाएँ । जसमा ईलाका प्रहरी कार्यालय बनेपामा आगजनी हुँदाको बखतमा आगो बलिरहेको ठाउँ नजिक रहेको कालो भेष्ट कालो पाईन्ट लगाएको व्यक्ति म भिम तामाङ नै हुँ भन्ने समेत व्यहोराको भिम तामाङको बयान ।
के हो अभियुक्त उपरको अभियोग ?
वारदात मिति र समयमा प्रतिवादीहरु अनिश सापकोटा समेत प्रहरी कार्यालयभित्र प्रवेश गरी भवनको सिसा तोडफोड गर्ने, कार्यालय भित्र तथा बाहिर रहेका सवारी साधन लगायत प्रहरी कार्यालयको भवनमा समेत आगजनी गरी प्रहरी कर्मचारीहरुको युनिफर्म लगायत व्यक्तिगत सर सामानहरु समेत जलाई नष्ट गरी प्रहरीको युनिफर्म लगायत अन्य सामाग्रीहरु समेत साथमा लिई गएका हुन । सो पश्चात निज प्रतिवादीहरु जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गई उक्त भवनमा समेत तोडफोड गरी आगजनी गरे पछी पुनः बनेपा नगरपालिकाको भवनमा समेत तोडफोड गरी भवन आगजनी गरी परिसर भित्र राखिएका सवारी साधनहरुमा समेत आगजनी गरेका थिए । सो लगायत अन्य स्थानमा रहेको सरकारी कार्यालय तथा अन्य व्यक्तिहरूको भवनमा समेत तोडफोड तथा आगजनी कार्यमा समेत निजै प्रतिवादीहरु समेतको संलग्नता रहेको छ । यसरी जेन्जी समुहहरुको आन्दोनको निहु पारी राष्ट्रको सम्पतिहरु आगजनी गर्ने प्रतिवादीहरुलाई कानुन बमोजिम कारवाही गरी भवन पुन निर्माणमा लाग्ने रकम तथा आगजनी गरी जलाईएको प्रहरीले प्रयोग गर्ने लत्ताकपडा समेतको सम्पुर्ण क्षतीपुर्ती प्रतिवादहरुबाटै दिलाई भराई दिनुपर्छ भन्ने समेत व्यहोराको मनोज जोशी समेतले गरि दिएको पटना विवरण कागज रहेको देखिन्छ ।
अत. प्रतिवादीहरु अनिश सापकोटा, समिर तामाङ, सुमन के.सी., बिशाल तामाङ, सुवास तामाङ, साकार खत्री, ङेमा साँ लामा, होम प्रसाद भन्ने रमेश तिमल्सिना, अभि श्रेष्ठ भिम तामाङ, अजय तामाङ र रबिन्द्र परियार समेतले मिति २०८२/०५/२४ गते भएको जेन्जी आन्दोलनको मौका छोपी इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको भवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सो भवन बाहिर रहेको सवारी साधन समेत क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, प्रहरी बिटहरुमा तोडफोड तथा आगजनी गरी हानीनोक्सानी तथा क्षति गराएको, भवन भित्र रहेको प्रहरीले प्रयोग गर्ने लत्ता कपडा तथा खाद्य सामग्रीहरुमा समेत आगजनी गरी हानी नोक्सानी पुच्याएको, र प्रहरीको भण्डार कक्षमा रहेको हातहतियारमा प्रयोग हुने गोली समेत लुटपाट, चोरी र तोडफोड समेत गरेको कार्य गरेको देखिँदा प्रतिवादीहरु सचिन राई र विजय माझीले मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र (२) को (क) बमोजिमको कसुर गरेको पुष्टि हुन आयो अभियुक्तलाई हुनुपर्ने सजाय: प्रतिवादीहरु अनिश सापकोटा, समिर तामाङ, सुमन के.सी., बिशाल तामाङ, सुवास तामाङ, साकार खत्री, मासाँ लामा, होम प्रसाद भन्ने रमेश तिमल्सिना, अभि श्रेष्ठ, भिम तामाङ, अजय तामाङ र रबिन्द्र परियारले मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र (२) को (क) बमोजिमको कसुर गरेको हूँदा निज प्रतिवादीहरु अनिश सापकोटा, समिर तामाङ, सुमन के.सी., बिशाल तामाङ, सुवास तामाङ, साकार खत्री, डेमा साँ लामा, होम प्रसाद भन्ने रमेश तिमल्सिना, अभि श्रेष्ठ, भिम तामाङ, अजय तामाङ र रबिन्द्र परियारलाई सोही संहिताको दफा २८५ को उपदफा (३) (ख) बमोजिम सजाय हुन मागदावी लिई सक्कल मिसिल र पक्राउ प्रतिवादीहरु अनिश सापकोटा, समिर तामाङ, सुमन के.सी., विशाल तामाङ, सुवास तामाङ, साकार खत्री, डेमा साँ लामा, होम प्रसाद भन्ने रमेश तिमल्सिना, अभि श्रेष्ठ भिम तामाङ, अजय तामाङ र रविन्द्र परियारलाई अभियोग पत्र साथ पेश गरिएको थियो ।
क्षतिपूर्तिको मागदावी:
प्रतिवादीहरुले तोडफोड गरी जलाई दिएको कार्यालयहरुको पुनर्निर्माण, प्रहरी कर्मचारीको राशन, लत्ताकपडा र सवारी साधन समेत गरी रु ५,४२,७६,४६८१– (अक्षेरुपी पाँच करोड बयालिस लाख छहत्तर हजार चारसय अठसठ्ठी मात्र) मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ४ बमोजिम निजै प्रतिवादीहरुबाट दिलाई भराई पाँउ ।





