काठमाडौं विश्वविद्यालय हाई स्कुल चौकोटमा म्याद नाघेका र अखाद्य खाना खुवाउने गरेको भेटियो
पनौती/काठमाडौ विश्वविद्यालय हाई स्कुल पनौती ५ चौकोटमा रहेको क्यान्टिनमा अखाद्य र गुणस्तरहिन खाना खुवाउने गरेको खुलासा भएको छ । जिल्ला स्तरीय अनुगमन समितिले बुधबार गरेको अनुगमनका क्रममा उक्त खुलासा भएको हो ।
अनुगमनका क्रममा बालबालिकाहरुलाई खुवाउन प्रयोग गरिने खाद्यान्न गुणस्तरहिन रहेको अनुगमन टोलीको निश्कर्ष रहेको छ । उक्त विद्यालयले विहान देखि साँझसम्म बालबालिकाहरुलाई अध्ययन सँगै खाना र खाजा खुवाउँदै अभिभावकहरुसँग चर्काे शुल्क असुल्दै आएको थियो । ‘अभिभावकहरुले गरेको गुनासोका आधारमा पटक पटक सुध्रन चेतवानी दिईएको भए पनि सुधार्ने प्रयत्न भएन’– अनुगमन समितिका एक सदस्यले भने–‘बुधबार विद्यालयको क्यान्टिनमा पुगेर गरिएको अनुगमनका क्रममा प्रयोग भएका खाद्यान्नहरु अधिकांश गुणस्तरहिन र अखाद्य भेटिए ।’
अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल प्रमुख मनिषा चापागाई, जनस्वास्थ्य कार्यालय काभ्रेकी डा.दीपा आचार्य, जिल्ला समन्वय समिति काभ्रेका प्रवेश आचार्य, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रजित पलाञ्चोके, जिल्ला प्रशासन कार्यालय काभ्रेका नकुल गिरी, उद्योग तथा बाणिज्य कार्यालयका रविन्द्र प्रसाद चौलागाई लगायतको समुह विद्यालय पुगेको थियो ।
अनुगमनका क्रममा सुजी, बेसार, भुजा, सोयाविन, पापड, वोतल पानी, मैदा, सोयासस, आँटा, चना लगायतका खाद्यान्नहरु गरी करिव ७० हजार मुल्य बराबरको खाद्यान्न नष्ट गरिएको हो । अनुगमन समितिले क्यान्टिनमा फेला पारेका कैफियतहरु मध्ये फुटेको र ढकनी नभएको फोहोर अवस्थामा डस्टविन रहेको, प्लास्टिक उक्किएका चपिङ्ग बोर्डहरु रहेको, सरसफाईका केमिकल र खाद्यान्नका केमिकल एकै स्थानमा भण्डारण गरिएको, म्याद गुज्रिएको खाद्य बस्तु प्रयोग गरी खाद्य पदार्थ तयार गरिएको, किचनमा काम गर्ने कामदारले हेयर नेट, एप्रोन प्रयोग नगरेको, एआईएफओ अवमुल्यन गरेको, उपभोग्य मिति समाप्त भएका सामाग्री प्रयोग गरिएको फेला पारेको हो । अखाद्य र म्याद नाघेका सबै सामाग्री विद्यालयका प्रधानाध्यापक नारद रिजालको उपस्थितिमा नष्ट गरिएको छ ।






