रुसी राष्ट्रपति आज भारत भ्रमणमा आउँदै
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत आउँदै छन् । पुटिन दिउँसो ४ बजे नयाँ दिल्लीमा आइपुग्ने बीबीसी हिन्दीले जनाएको छ ।
दिल्लीमा पुटिनको भव्य स्वागत गर्ने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र दुई देशबीच हुने शिखर सम्मेलनका लागि हुन लागेको पुटिनको भ्रमणमा भारत र रुसबीच कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने तयारी रहेको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । अमेरिकाले रुसी तेल खरिद रोक्न भारतमाथि दबाव दिएको केही समयमै रुस र भारतबीच सम्झौताहरू हुन लागेका हुन् ।
अहिले भारतसँग अमेरिकाको सम्बन्ध विग्रिएको छ । भारतबाट आयात हुने सामाग्रीमा अमेरिकाले ५० प्रतिशत कर लगाएको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा रुस र युक्रेनसँग शृङ्खलाबद्ध वार्ता गरिरहेको बेला पुटिन भारत आउन लाग्नुभएकोले यो भ्रमणलाई अमेरिका सहित विश्व समुदायले चासोका साथ हेरेको छ । सन् २०२२ मा युक्रेनसँग युद्ध शुरू भएपछि पुटिन पहिलोपटक भारत आउन लागेका हुन् ।
भोलि दिल्लीमा रहेको भारत मण्डपममा आयोजित इन्डिया–रुस बिजनेश सम्मेलनलाई पुटिन र मोदीले सम्बोधन गर्नेछन् । सम्मेलनमा सुरक्षा सम्बन्ध प्रवद्र्धन, व्यापार सम्बन्ध प्रवद्र्धन, विदेशी हस्तक्षेपबाट जोगिने विषयबारे छलफल हुनेछ । भारत र रुसले वर्षेनी आलोपालो यो सम्मेलन आयोजना गर्दै आएका छन् ।






