नेपालको स्तरोन्नति यात्रा: अवसर र चुनौती

by | मंसिर १८, २०८२

नेपालको स्तरोन्नति यात्रा: अवसर र चुनौती

विषय प्रवेश
नेपालले विगत केही दशक यता विकास र परिवर्तनका अनेकौँ चरण पार गर्दै आएको छ । राजनीतिक संक्रमण, आर्थिक उतारचढाव, सामाजिक रूपान्तरण, संस्थागत कमजोरीजस्ता जटिल बाधा हुँदै अघि बढेको हाम्रो यात्रा अहिले एक महत्वपूर्ण मोडमा छ । ‘अति कम विकसित राष्ट्र’ को सूचीबाट ‘विकासोन्मुख मुलुक’ तर्फको स्तरोन्नति । सन् १९७१ मा एलडिसी सूचीमा समावेश भएको नेपालले लगभग पाँच दशकपछि सन् २०२१ मा संयुक्त राष्ट्रसंघबाट स्तरोन्नतिको अनुमोदन पाएको र सन् २०२६ मा औपचारिक रूपमा स्तरोन्नति हुने भएको छ ।
स्तरोन्नति भनेको केवल नाम बदल्नु मात्र होइन । यो देशको आर्थिक क्षमताको सुधार, सामाजिक विकासमा प्रगति र दिगो संरचनागत परिवर्तनको सूचक हो । यद्यपि, यससँगै अनेकौँ चुनौती, जिम्मेवारी र तयारीको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।
अवसर तथा सकारात्मक प्रभाव
नेपाल एलडिसी सूचीबाट बाहिरिँदै हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो । यसले राष्ट्रलाई अनेकौँ अवसरको ढोका खोलिदिन सक्छ ।
राष्ट्रिय स्वाभिमानमा वृद्धि
विगत लामो समयदेखि नेपाललाई अन्तर्राष्ट्रिय जगतले एक गरिब राष्ट्रका रूपमा हेर्दै आएको थियो । विकास सूचकाड्ढमा क्रमिक सुधार भए पनि एलडिसी को ट्यागले देशको छवि उभ्याउन कठिनाइ उत्पन्न गथ्र्यो । अब भने यो छायाबाट नेपाल मुक्त हुँदैछ ।
स्तरोन्नतिले नेपालको आत्मछवि मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा समेत सकारात्मक परिवर्तन ल्याउनेछ । विकासोन्मुख राष्ट्रको पहिचानले विश्वमञ्चमा नेपालको प्रतिष्ठा, विश्वास र पहिचान बलियो हुने अपेक्षा गरिएको छ । जनस्तरमा समेत आत्मविश्वास, आशा र राष्ट्रप्रतिको गर्वको भावना बढ्न सक्छ ।
यो परिवर्तन केवल भावनात्मक होइन—आर्थिक कूटनीति, व्यापार,अन्तर्राष्ट्रिय सहकार्यजस्ता क्षेत्रहरूमा नेपाल समान स्तर का देशहरूसँग प्रतिस्पर्धा र सहकार्य गर्न सक्षम छ भन्ने सन्देश दिन्छ ।
वैदेशिक लगानी आकर्षित गर्ने अवसर
नेपालले एलडिसी को बिल्ला हटाएपछि विश्वका लगानीकर्तासँग संवाद गर्ने आधार अझ मजबुत बन्नेछ । धेरै अन्तर्राष्ट्रिय लगानी समूहहरू स्थिर, प्रगतिशील र उदाउँदो अर्थतन्त्र भएको देशमा लगानी गर्न रुचाउँछन् । एलडिसी  श्रेणीमा रहँदा नेपाल प्रायः उच्च जोखिमयुक्त बजारका रूपमा चित्रित हुन्थ्यो ।
अब, सकारात्मक सन्देश प्रसारित भएका कारण लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सक्षम छ भने–उत्पादक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, पूर्वाधार विकासमा सहकार्य, ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिमा लगानी आकर्षण बढ्न सक्छ ।
यद्यपि, लगानी आकर्षण केवल स्तरोन्नति ले मात्र सम्भव हुँदैन, स्पष्ट नीतिगत स्थिरता, भ्रष्टाचार नियन्त्रण, कर प्रणाली सरलीकरण, श्रम नीतिमा लचिलोपनजस्ता थप सुधार अपरिहार्य हुन्छन् । तर सकारात्मक छवि निर्माणका लागि स्तरोन्नति एउटा बलियो आधार अवश्य हो ।
समृद्ध अर्थतन्त्रको आधार निर्माण
एलडिसीबाट बाहिरिनु आर्थिक संरचना बलियो बन्दै गएको प्रमाण हो । यसले नेपाललाई आत्मनिर्भर र प्रगतिशील अर्थतन्त्र निर्माणतर्फ अघि बढ्न मद्दत गर्छ । स्तरोन्नति पछि नेपालले— दीर्घकालीन आर्थिक योजना, स्थानीय उत्पादनमा आधुनिकीकरण, प्रविधि हस्तान्तरण निजी क्षेत्रको भूमिकाको विस्तार—जस्ता क्षेत्रहरूलाई अझ मजबुत बनाउन सक्छ ।
नेपालका युवाहरू रोजगारीका लागि विदेश पलायन हुनु प्रमुख समस्या हो । अब, लगानी वृद्धि र उद्योग विस्तार भएमा रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, निर्यात वृद्धि हुने र मुलुकको आर्थिक चक्र बलियो बन्ने सम्भावना बढ्छ ।
नेपालले आफ्नो भौगोलिक स्थिति, पर्यटन क्षमता, जलविद्युत् भण्डार, कृषि विविधता जस्ता अवसरलाई रणनीतिक रूपमा उपयोग गर्न सकेमा स्तरोन्नति समृद्ध नेपालको यात्रालाई गति प्रदान गर्न सक्छ ।
चुनौती तथा आवश्यक तयारी
अवसरहरूसँगै नेपालले ध्यान नदिए प्रगति अवरुद्ध हुने सम्भावनायुक्त चुनौतीहरू पनि छन् । नेपालले अब आश्रित अर्थतन्त्रबाट यथार्थमै प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरणको चुनौती सामना गर्नुपर्नेछ ।
व्यापार सुविधाहरूमा कमी हुने सम्भावना
एलडिसी भएको कारण नेपालले अन्तर्राष्ट्रिय बजारमा धेरै विशेष सुविधा पाउँदै आएको थियो । जस्तै—निर्यातित सामानमा शुल्क छुट, कोटा–मुक्त पहुँच, विशेष व्यापारिक प्रोत्साहन स्तरोन्नतिपछि यी सुविधा क्रमशः कम हुँदै जानेछन् ।
विशेष भएर कपडा, कृषिजन्य वस्तु र हस्तकलामा आधारित उद्योगहरू प्रभावित हुने सम्भावना छ । प्रतिस्पर्धी उत्पादन नहुँदा नेपाली वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा चुनौतीमा पर्न सक्छन् ।
संगठित उद्योग क्षेत्र कमजोर रहेको नेपालका लागि यो ठूलो चुनौती हो । अहिले नै—उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ब्रान्डिङ र मार्केटिङ सुधार गर्ने, निर्यात गर्ने बिकसित तरिका अपनाउने—यस्ता तयारी अनिवार्य छन् ।
अन्तर्राष्ट्रिय सहयोगमा कटौती
एलडिसी देशहरूलाई अन्तर्राष्ट्रिय दातृ निकायहरूले विशेष सहुलियत, अनुदान, र सहज कर्जा उपलब्ध गराउँछन् । स्तरोन्नतिपछि—अनुदान कम हुने, कर्जा सस्तो नहुने, विकास परियोजनामा दातृ निकायको प्राथमिकता घट्ने—जस्ता असर देखिन सक्छन् ।
नेपाल अझै राजश्व, उत्पादन र रोजगारीको दृष्टिले कमजोर छ । आन्तरिक स्रोत परिचालन सबल नभइसकेको अवस्थामा ठूलो विकास योजनामा लगानी जुटाउन दबाब बढ्नेछ । त्यसैले, वर्तमान मैसर संसाधनहरू दिगो बनाउन, सरकारी खर्चमा पारदर्शिता ल्याउन र राजश्व प्रणाली विस्तार गर्न नेपालले सतर्कता अपनाउनुपर्नेछ ।
आन्तरिक क्षमता अभिवृद्धिको आवश्यकता
स्तरोन्नति आफैँमा राम्रो कुरा हो । तर स्तरोन्नतिले देश भित्रको संरचनागत कमजोरी हटाइदिँदैन ।
नेपालमा अझै पनि—उत्पादन क्षमता कमजोर, प्रविधि प्रयोग सीमित, सरकारी संयन्त्र सुस्त, निजी क्षेत्रको जोखिम वहन क्षमतामा कमी, श्रम–सीप असन्तुलन जस्ता कमजोरी छन् ।
एलडिसीबाट बाहिरिएपछि नेपाललाई अब नतिजामुखी राज्य बन्नै पर्ने बाध्यता छ । प्रतिस्पर्धी अर्थतन्त्रमा टिक्नका लागि—उत्पादक क्षेत्रमा प्रविधिक क्षमता, युवालाई प्राविधिक सीपमूलक तालिम
कृषि आधुनिकीकरण, उद्योग दिगो रूपमा सञ्चालन, निर्यातयोग्यता विकास जस्ता क्षमता तुरुन्तै बढाउनु आवश्यक छ । यस यात्रामा राज्य, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अत्यन्त महत्वपूर्ण हुनेछ ।
स्तरोन्नति यात्रा: नेपालका लागि रणनीतिक दिशाहरू
नेपालले अवसर उपयोग गर्न र चुनौती व्यवस्थापन गर्न केही रणनीति अपनाउन आवश्यक छ ।
नीतिगत स्थिरता र सुशासन
वैदेशिक लगानी आकर्षणको सबैभन्दा ठूलो पूर्वशर्त राजनीतिक स्थिरता र सुशासन हो । भ्रष्टाचार नियन्त्रण, कानुनी स्पष्टता, प्रशासनिक क्षमता र दिगो नीति निरन्तरताले मात्र लगानीदारलाई नेपाल विश्वसनीय बाजार बन्न सक्छ ।
ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने
जलविद्युत् नेपालको सबैभन्दा ठूलो अवसर हो । विस्तृत ऊर्जा उत्पादन र प्रसारण विकासले—उद्योग विस्तार, निर्यात वृद्धि, क्षेत्रीय ऊर्जा अर्थतन्त्रमा जोडिने अबसर सिर्जना गर्छ । पूर्वाधारमा—सडक, डिजिटल संरचना, कृषि भण्डारण, आपूर्ति प्रणाली—सुधारले मुलुकको उत्पादन क्षमता गुणात्मक रूपमा परिवर्तन गर्नेछ ।
उत्पादनमूलक अर्थतन्त्रमा रूपान्तरण
नेपाल ६० प्रतिशतभन्दा बढी राजश्व आयातमा निर्भर छ । यो संरचना दिगो हुँदैन । अब, कृषि आधुनिकीकरण, घरेलु उद्योग विस्तार, पर्यटन क्षेत्रको उच्च मूल्यवर्धन, सूचना प्रविधि उद्योग—लाई प्राथमिकता दिनुपर्छ ।
वैदेशिक रोजगारको विकल्प रूपमा देशमै रोजगारी सिर्जना
प्रत्येक वर्ष लाखौँ युवा विदेश गइरहेका छन् । देशभित्र उत्पादनमूलक उद्योग बढे र सीपका अवसर बढे भने युवाशक्ति राष्ट्र निर्माणमा लागू गर्न सकिन्छ ।
शिक्षा र सीप विकास
गुणस्तरीय, प्राविधिक र बजार–उपयुक्त शिक्षा बिना स्तरोन्नति टिकाउ हुँदैन । रोजगारी र उद्योग दुवैलाई प्रविधिमैत्री मानव संसाधन आवश्यक छ ।
निष्कर्ष: स्तरोन्नति अवसर हो, तर तयारी शर्त हो 
नेपालको एलडिसीबाट स्तरोन्नति केवल कागजी उपलब्धि होइन—यो मुलुकले आधा शताब्दीपछि पाएको महत्वपूर्ण मान्यता हो । यसले राष्ट्रिय स्वाभिमान बढाउँछ, वैदेशिक लगानीको बाटो खोल्छ र समृद्ध अर्थतन्त्र निर्माण गर्ने आधार बनाउँछ । तर, यो यात्रा सरल छैन । व्यापार सुविधा गुम्ने, अन्तर्राष्ट्रिय अनुदान घट्ने, प्रतिस्पर्धा बढ्ने र आन्तरिक क्षमता अभिवृद्धिको आवश्यकताजस्ता चुनौतीहरू गम्भीर छन् ।
अन्तत:
स्तरोन्नति केवल गन्तव्य होइन, नयाँ यात्राको सुरुवाात हो । नेपालले अवसरलाई चिप्लिन नदिई योग्य तयारी, सुशासन, उत्पादनमूलक विकास र राष्ट्रिय सहकार्यका माध्यमबाट यो यात्रालाई ऐतिहासिक मोडमा रूपान्तरण गर्न सक्नेछ । (लेखक बागमती गाउँपालिका ४, ललितपुर निवासी हुनुुहन्छ । हाल चण्डेश्वरी सृष्टिकान्त माद्यमिक विद्यालय, बनेपा ४ मा कार्यरत हुनुहुन्छ ।