काभ्रेमा पालिका स्तरीय जुरिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्यूनीकरण) सम्बन्धी एक दिवसीय सचेतना तथा अन्तरक्रिया गोष्ठी सम्पन्न

बनेपा/ सामुदायिक वन उपभोक्ता महासघं नेपाल जिल्ला काभ्रेको आयोजनामा जलवायु परिवर्तनका असर न्युनीकरण र वन क्षेत्रको दिगो संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले जुरिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्युनीकरण) कार्यक्रम सम्बन्धि पालिका स्तरीय एक दिवसीय सचेतना तथा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।

काभ्रेको बनेपा, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिकामा संचालन भएको गोष्ठीमा डिभिजन वन कार्यालयका प्रतिनिधिहरु, सब डिभिजन वन कार्यालय प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरु, विभिन्न जातीय संघ, संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, सरोकारवाला निकायका व्यक्तिहरु र महिलाहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा रेडप्लस कार्यक्रमको उद्देश्य, कार्यान्वयनको चरण, वन संरक्षणको भूमिकासँगै कार्वन व्यापार र लाभांश वितरणको विषयमा विस्तृत जानकारी गरिएको थियो । उक्त अवसरमा सहभागीहरु बीच वन संरक्षणको भूमिकासँगै पालिका स्तरमा वनको दिगोपना, वातावरणीय सचेतना र जलवायु प्रतिरोधात्मक विकास योजनाको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरण सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटाले गरेका थिए । उक्त गोष्ठी सामुदायिक वन उपभोक्ता महासंघ काभ्रेका अध्यक्ष बलराम घिमिरेको सभापतित्व रहेको थियो भने गोष्ठिमा बनेपा नगरपालिका उप प्रमुख विला सापकोटा, वडा अध्यक्षहरु, नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष विनोद न्यौपाने, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटाले काठमाडौ, काभ्रे, भक्तपुर लगाएत वागमती प्रदेशका ६ वटा जिल्लामा उक्त गोष्ठि गरिएको बताए ।