सर्वपक्षीय बैठकः सरकारलाई चुनावमा केन्द्रित हुन दलहरुको आग्रह

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठक सकिएको छ । शुक्रबार साँझ निर्वाचन अयाोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा सर्वपक्षीय बैठक बसेको थियो । बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार, दलका प्रतिनिधिहरूले सरकारलाई चुनावमा नै केन्द्रित हुन आग्रह गरिएको छ ।

वर्तमान सरकार सामान्य परिस्थितिमा निर्माण नभएको भन्दै उनीहरूले अहिले चुनावमा मात्रै केन्द्रित हुन आग्रह गरिएको छ ।

‘राजनीतिक दलहरूले सरकारलाई प्रष्ट रुपमा, यो चुनावी सरकार हो । चुनावमै अर्जुनदृष्टि लगाउनुप¥यो, जसरी अर्जुनले आफ्नो वाण सोझ्याएका थिए,’ नेता ज्वालाले भने, ‘यो सरकारले यताउता ध्यान दिने काम गर्न भएन । चुनावमा केन्द्रित होस् । शान्तिसुरक्षाको वातावरण अझै बनाउनेगरी अघि बढोस् भन्ने सुझाव दिएका छौं ।’

केही आशंकाकाबीच केही दलहरूले निर्वाचनमा जान तत्पर रहेको जानकारी गराएको उनले बताए ।

सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि सहयोग गर्न तयार रहेको बताइन् ।

‘हामीलाई सहयोग गर्नुस् । हामी निर्वाचन गराउन तत्पर छौं । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै ज्वालाले भने ।