हिंसाको बदलिँदो तरंग : घर भित्रबाट डिजिटलमा रुपान्तरित

by | मंसिर २०, २०८२

हिंसाको बदलिँदो तरंग : घर भित्रबाट डिजिटलमा रुपान्तरित

मोतीराम तिमल्सिना
धुलिखेल

    लैङ्गिक हिंसा विरुद्ध अभियान चलिरहेको छ । तथ्यांकले घरेलु हिंसाका घटनाको संख्यामा कमी देखिएको भए पनि हिंसाका स्वरुप बदलिएका छन् । जिल्लाको तथ्यांक अनुसार हरेक वर्ष घरेलु हिंसाका घटना दर्ताको संख्यामा कमी आएको छ । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा घरेलु हिंसाका १ सय ४४ वटा घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा १ सय ८३ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७९/०८० मा १ सय ८६ वटा घटना दर्ता भएका थिए । तिन आर्थिक वर्षमा नै धुलिखेलमा घरेलु हिंसाका घटना धेरै छन् । धुलिखेलमा ३९ वटा घरेलु हिंसाका घटना दर्ता हुँदा महाभारत र खानीखोलामा एक÷एक वटा घटना दर्ता भएका छन् । ति पालिकाहरुमा अघिल्लो वर्ष भने क्रमशः ८ वटा र ४ वटा घटना दर्ता भएका थिए । 

   

 वागमती प्रदेशमा विद्युतिय कारोवार ऐन अन्तर्गत १० वटा मुद्दा दर्ता भए । जसबाट १० जना पीडित भएका छन् । पीडित मध्ये २ बालिका र ८ महिला छन् । सबैभन्दा धेरै मधेश प्रदेशमा ३३ वटा दर्ता भए । एक आर्थिक वर्षको अवधीमा सोहि अभियोगमा १ सय ४ वटा मुद्दा दर्ता भए । विद्युतिय माध्यमबाट ठगी सम्बन्धी कसुर अभियोगमा २ वटा मुद्दा दर्ता भएका थिए । देशभरको तथ्यांकले साईबर अपराधमा ९९ महिला, १३ बालिका र ३ पुरुष पीडित भएका छन् । 
    आर्थिक वर्ष २०८२/०८३ को चौमासिक अवधी साउन–कार्तिकसम्म जर्बजस्ती करणीका घटना ४ वटा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा २६ वटा, २०८०/०८१ मा ४१ वटा, २०७९/०८० मा ३७ वटा र २०७८/०७९ मा २९ वटा घटना दर्ता भएका थिए । 
    

जर्बजस्ती करणी उद्योगमा चालु आर्थिक वर्षमा एउटा पनि घटना दर्ता भएका छैनन । आर्थिक वर्ष २०८१/०८२ मा ६ वटा घटना दर्ता भए । त्यसभन्दा अघि लगातार ३ वर्ष यो अभियोगमा कुनै घटना दर्ता भएन । बहुविवाह सम्बन्धी चालु वर्षमा ५ वटा घटना दर्ता भए । अघिल्लो वर्ष ४ वटा, आर्थिक वर्ष २०७९/०८० मा ५ वटा, २०७८/०७९ मा ७ वटा बहुविवाहका घटना दर्ता हुँदा आर्थिक वर्ष २०८०/०८१ मा कुनै घटना दर्ता भएन । 
    मानव बेचविखन सम्वन्धी अभियोगमा हरेक वर्ष २÷२ वटा घटना दर्ता भएका छन् । यो वर्षको चौमासिकसम्म कुनै घटना दर्ता भएका छैनन । बाल विवाहका घटना आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा एउटा/एउटा दर्ता भए । बालयौन दुरुपयोग अभियोगमा चालु वर्षमा २ वटा, अघिल्लो वर्ष ४ वटा, आर्थिक वर्ष २०८०/०८१ मा १३ वटा, आर्थिक वर्ष २०७९/०८० १० वटा र २०७८/०७९ मा ३ वटा घटना दर्ता भएका छन् ।

 
    पालिकागत रुपमा पनौती नगरपालिकामा सबैभन्दा धेरै जर्बजस्ती करणीका घटना भएका छन् । तीन वटा आर्थिक वर्षमा भएका १ सय १२ वटा घटनामा पनौतीमा १७ वटा छन् । बनेपामा १६, धुलिखेलमा १४, पाँचखालमा १३, भुम्लुमा १०, मण्डनदेउपुरमा ९, रोशीमा ९, नमोबुद्धमा ६, चौरीदेउरालीमा ५, महाभारतमा ५, खानीखोलामा ३, तेमालमा ३ र बेथान्चोकमा २ वटा घटना भए । आर्थिक वर्ष २०७९/०८० मा ३७ वटा, आर्थिक वर्ष २०८०/०८१ मा ४९ वटा र आर्थिक वर्ष २०८१/०८२ मा २६ वटा घटना पालिकागत रुपमा दर्ता भएका छन् । 

    आर्थिक वर्ष २०८१/०८२ मा मण्डनदेउपुरमा चारवटा बालयौन दुब्र्यवहारका घटना भए । जिल्लामा १३ वटा जाहेरी दर्ता भएका थिए । स्थानीय तह, प्रहरी तथा सरोकारवाला निकायहरुले लैङ्गिक हिंसाका घटना न्यूनीकरणका लागि प्रयास तथा सचेतना अभियान संचालन गरिरहेका छन् । अधिकांश घटनामा सामाजिक सञ्जाल अर्थात् मोबाईलको गलत प्रयोग हावी हुन थालेको अनुसन्धानले देखाएको छ ।