मृत्युवरण मान्छेविच्छे फरक फरक: दुलही बनेर नभित्रिंदै बेहोस, उपचारको क्रममा मृत्यु

by | मंसिर २२, २०८२

मृत्युवरण मान्छेविच्छे फरक फरक: दुलही बनेर नभित्रिंदै बेहोस, उपचारको क्रममा मृत्यु

सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो ‘मृत्यु’ । त्यो पनि मानिसको ! अझ स्वजनको ! अझ सबै भन्दा बढी त आफ्नै ! सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्तब्ध हुदैनर ? तथापी सान्त्वना दिन अनेक प्रपन्च रच्नेगर्छ, मान्छे । म त मर्दिन अरु नै कोहि पो मर्छ भन्छ । धन्न, धर्मले आत्मा मर्दैन र बिज्ञानले मानिस मरेपछी उर्जामा रुपान्तरण हुन्छ भन्छ र राहात महशुस गर्छ, मान्छे । समयले बिस्तारै भुलाउँछ स्वजनको मृत्यु र औषधि गर्छ बाँचेको मानिसलाई । नत्र के हुन्थ्यो होला, हामी अनिवार्य मर्नैपर्ने मान्छेको हालत ।

मृत्यु के हो भन्ने सन्दर्भमा मृत्युको ज्ञान, कला र बोध मसंगपनि खासै छैन । न त अनुभव नै छ । तर म सँग मृत्यु सम्बन्धी धेरै जिज्ञासाहरु भने पक्कैपनि छन् । मृत्यु के हो ? मरेपछि के बाँकी रहन्छ ? मरेपछि के हुन्छ ? कसरी स्वीकार गरे मृत्यु ती महान मानिसहरूले ? हाम्रा बाजे बज्यै किने मरे ? हाम्रो बुबा किन मर्नु भयो ? भन्नेजस्ता यावत सन्दर्भका प्रश्नहरुले मलाई उनिहरुका भनाई संकलन गर्ने, लेख्ने र बुझ्ने रहरचाहिं लागिरहन्छ । यस सन्दर्भमा शिरोमणि लेखनाथ पौड्यालले आफ्नो कालमहिमा कवितामा लेखेका छन् ः
‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ।।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो’ ।
टेलिभिजन अन्तर्वार्तामा भगवान कोइराला भनेको सुनेको छु–मनुष्यको हिसावले मृत्यु अवश्यम्भावी हो, चिकित्सकको हिसाबले मृत्युलाई जति सक्दो पछाडी धकेलेर गुणस्तरीय जीवन बाँच्ने बनाउने हो । बैज्ञानिक हिसावले कोष, तन्तु, अंग, प्रणालीको सन्तुलन स्थायी रुपले बिग्रीदा मृत्यु हुन्छ । मृत्यु भएपछि कोषको शक्ति रुपान्तरण हुनुपर्छ । हामी सबै मर्छौं भन्ने बोध भएको भए जीवन सार्थक हुन्थ्यो । सिंगापुरको डाक्टरले जीवनको अन्तिम घडीमा भनेको कुरा–यदि हामीले कसरी मर्ने भनेर सिक्यौँ भने मात्र हामीले कसरी बाँच्ने भन्ने सिक्छौँ । त्यस्तै वसन्त पन्त भन्छ्न्–मृत्यु भनेको अन्तिम सत्य हो । ब्रेन, मुटु, फोक्सो, कलेजो र मृगौलाले पूर्ण रुपमा कार्य नगर्नु हो । अर्जुन कार्की भन्छ्न्–ब्रेनले शरीरलाई चलाउँछ । ब्रेनलाई चलाउने कुनै अदृश्य शक्ति हुनुपर्छ । सायद, त्यो चेतना हो या अरु नै केहि ! त्यस्तै मनिषा कोइराला भन्छिन्–कोहि बोल्न नचाहने र प्रश्न नगर्ने बिषय हो मृत्यु । मलाई मृत्यु नजिकको अनुभवले जीवनलाई हेर्ने दृष्टिकोण पूरै बदलिदयो । यसरी नियाल्दा जीवनको दशगुणा महत्व मृत्युबोधले बढाउदो रहेछ ।

मृत्युले असल मानिसलाई चाँडै लगेका थुप्रै दृष्टान्तहरु छ्न् । भनिन्छ, प्रसिद्ध मानिसहरुको आयु छोटो हुन्छ । जीवन बास्तवमा छोटो छ हामी आफै यसलाई अझ छोटो बनाउँछौँ । ३० बर्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट वा ४३ बर्षको अल्पायुमा निधन भएका भैरब अर्याल वा ४२ बर्षमा निधन भएका मदन भण्डारी वा ६३ बर्षमा प्राण छोडेका उपेन्द्र देवकोटा वा बिरेन्द्रको बंशनास वा ३९ बर्षमा संसार छडेका स्वामी विवेकानन्द । सबैको आयू छोटो रहेछ तर कामले त दीर्घायू देखाउँछ । यसवाट प्रष्ट हुन्छ, यो महत्वपूर्ण छैन । जीवन कति लामो हुन्छ, यो महत्वपूर्ण छ जीवन कसरी असल हुन्छ ।

जीवन, कर्म, मृत्यु र अल्पायुको सन्दर्भमा ललितपुरको महाङ्काल गाउँपालिका–४ कालेश्वर बतासेकी चेली शुभद्रा सापकोटाको गत मङ्सिर ६ गते सिन्धुपाल्चोकको मेलम्चीमा विवाह भएको थियो । काभ्रेकको मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित जय सरस्वती आधारभूत विद्यालयमा शिक्षकको रुपमा अध्ययापनरत सुभद्रा विगत केहि समयदेखि जय सरस्वतीमा आधारभूत तहका विद्यार्थीहरुलाई पढाउँदै आएकि थिइन् । मण्डनदेउपुरको जय सरस्वतीमा शिक्षिका रहेकी उनको विवाहकै दिन घर भित्र्याउने क्रममा एक्कासी बेहोस भएपछी दुलही भित्र्याउन नपाउँदै काठमाडौँको वीर अस्पताल भर्ना गरिएको थियो । मंसिर ६ गते जन्मघरबाट दुलही बनेर अन्मिंदै कर्मघर हिंडेकी उनी कर्मघरको मूल ढोकाभित्र नपस्दै मृत्यु हुन पुग्यो । उपचारको क्रममा आईसियुमा राखेर उपचार भैरहँदा २०८२ साल मङ्सिर २० गते उनको दुःखद निधन भएको हो ।

वि.सं. २०७९ सालबाट स्थायी शिक्षकको रुपमा सेवा प्रवेश गरी सेवारत रहँदा उनले देखाएको इमान्दारिता, कर्तव्यनिष्ठता सहितको कुशल शिक्षण कर्म सिंगो मण्डनदेउपुर, मण्डनदेउपुरको वडा नं. १२, जय सरस्वती आधारभूत स्कूलसहित सिंगो शिक्षा क्षेत्रले कहिल्यै भुल्न सक्ने छैन ।

उनको निधनमा मण्डनदेउपुर नगरपालिकाको शिक्षा शाखाले २१ गते १ दिन नगरभित्रका सबै विद्यालयहरुमा शोक विदा दियो, पठन पाठनलाई ठप्प बनायो । केहि संस्थागत विद्यालयहरुले विद्यालयको विहानी प्रार्थनाको समयमा उनिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पपण गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरे । कर्मघरमा भित्र्याउने सिलसिलामै दिवंगत भएकी उनको स्वर्गमा बास होस, हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।