काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा १७ देशका २२ सय ९ विद्यार्थी दीक्षित हुने
धुलिखेल/काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त (पहिलो चरण) २०६२ मंसिर २४ गते बुधवार आयोजना गरिएको छ ।
विश्वविद्यालयको स्कुल अफ आट्र्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कूल अफ लका ३६, स्कूल अफ मेनेजमेन्टका ३७८, स्कूल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुनेछन् । दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बाङ्लादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना अर्थात विदेशी रहनेछन् ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत अर्थात १ हजार १ सय ५४ जना र महिला ४७.७६ प्रतिशत अर्थात एक हजार ५५ जना छन् । दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने उपकुलपति प्रा.डा.अच्युत वाग्लेले बताए ।
समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने कार्यक्रममा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. सान्ती धुलिपुडी पण्डितले प्रमुख आतिथ्यता सहित दीक्षान्त सम्भाषण हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति महावीर पुन पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । रजिष्ट्रार प्रा.डा.राजीव श्रेष्ठले सन्चालन गर्ने समारोहमा उपकुलपति प्रा.डा.अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट मन्तव्य राख्नेछन् ।





