धुलिखेल अस्पतालमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि विविध कार्यक्रम, डिजिटल हिंसा रोक्न सचेतनामुलक कार्यक्रम
धुलिखेल/महिला र बालिकाहरु विरुद्ध हुने सबै प्रकारका डिजिटल हिंसा अन्त्य गर्न भएका विभिन्न कार्यक्रमहरुको धुलिखेल अस्पतालमा समापन गरिएको छ । धुलिखेल अस्पतालमा रहेको एकद्वार संकट ब्यवस्थापन केन्द्रद्वारा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
अस्पतालका संस्थापक डा.रामकण्ठ माकजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अस्पतालका संस्थापक डा.रामकण्ठले धुलिखेल अस्पताल सबै नागरिकहरुको सहज पहुँचका लागि भएको बताए ।
अस्पतालको स्थापना र निरन्तरता विश्वमा पाईने महंङ्गा अस्पतालको सेवा सहज र सरल रुपमा धुलिखेलमा प्राप्त गर्न सकुन भन्ने रहेको बताए । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लैङ्गिक हिंसा अन्त्यका लागि भएका प्रयासलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
कार्यक्रममा अस्पतालका प्रशासकीय निर्देशक डा.विराजमान कर्माचार्यले अस्पताल र अस्पतालले समुदायमा उपलब्ध गराएका विभिन्न सेवा र पहुँचका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा डा.जुन कक्षपतिले लैङ्गिक हिंसा न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा डिजिटल लैङ्गिक हिंसाका बारेमा प्यानल छलफल गराईएको थियो । प्यानल छलफलमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेकी प्रमुख कृष्णा भण्डारी, जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी निरिक्षक मेहेगी ल्हामु तामाङ, जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपति र ओसिएमसी प्रमुख डा.सम्झना बस्नेत सहभागि थिए ।
लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतनामुलक नाटक र भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम लगायतको विशेष सहभागिता रहेको थियो ।






