माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा धुलिखेलको सञ्जीवनी प्रथम
धुलिखेल/माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता सञ्जिवनी मावि धुलिखेलमा सम्पन्न भएको छ । जिल्लाका ११ पालिकाका १२ वटा विद्यालय सहभागि भएकोमा धुलिखेलका दुईवटै विद्यालय क्रमशः प्रथम र दोश्रो भएका छन् ।
शिक्षा विकास समन्वय इकाई काभ्रेको आयोजना तथा बागमती प्रदेश सरकार शिक्षा विकास निर्देशनालय हेटौडाको सहयोगमा आयोजना गरिएको उक्त प्रदर्शनीमा धुलिखेलमा रहेको सञ्जिवनी नमूना उच्च मावी प्रथम भएको छ भने गत वर्ष जिल्ला र प्रदेशमा समेत प्रथम भएको धुलिखेलकै सेतिदेवी मावी दोश्रो भएको छ ।
चौरीदेउराली गाउँपालिकाको प्रभा मावी तेश्रो भएको छ । क्रमशं उत्कृष्ट हुने विद्यालयहरुले नगद ६ हजार, ५ हजार र ४ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । प्रदर्शनीमा धुलिखेलबाट २ दुईवटा विद्यालय सहभागि थिए भने हरेक पालिकाबाट एक/एक विद्यालय सहभागि थिए । खानीखोला र महाभारतबाट विकटताका कारण कुनै पनि विद्यालय सहभागि भएनन् ।
पनौतीबाट भालेश्वर मावी, बनेपाबाट प्रभात मावी, मण्डनदेउपुरबाट इन्द्रावती मावी, रोशीबाट रोशी मावी, तेमालबाट भूमी मावी, पाँचखालबाट ज्ञानेश्वरी मावी, चौरीदेउरालीबाट प्रभा मावी, नमोबुद्धबाट जनक मावी, बेथान्चोकबाट पार्वती मावी, भुम्लुबाट दुलालेश्वर मावी सहभागि भएका थिए । विजयी विद्यार्थी तथा विद्यालयहरुलाई जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, शिक्षा समन्वय इकाई प्रमुख सविता दंगाल, धुलिखेल शिक्षा शाखा प्रमुख डिकबहादुर राई, राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष भिमसेन हुमागाई लगायतले बधाई तथा शुभकामना दिदै पुरस्कृत गरेका थिए ।
प्रदर्शनीको मुल्यांकनका लागि काठमाडौ विश्वविद्यालयबाट सह प्राध्यापक डा.स्मृति गुरुङ्ग, उपप्राध्यापकद्धय डा.बविकुमार काफ्ले र दिपेन्द्रबहादुर हमाल रहेका थिए । सहभागि विद्यालयहरुले स्थानीय सामाग्रीको प्रयोग गरी तयार गरिएका सामाग्री सहित विज्ञान प्रदर्शनीमा भाग लिएका थिए ।






