टीओबी समूहका तेन्जिन विरुद्ध मुद्दा दर्ता
जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ ।
करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीविरुद्ध अहिले लागुऔषधको कसुरका साथै लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । उनको कोठाबाट गाँजा बरामद भएकाले लागुऔषधको कसुरमा पनि मुद्दा चलाइएको प्रहरीले बताएको छ ।
त्यसैगरी उनीबाट प्राप्त नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र समेत कीर्ते भेटिएकाले लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको । गलत विवरण पेस गरेर तेन्जिनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको, त्यही नागरिकताको आधारमा राष्ट्रिय परिचय बनाएको राहदानी बनाएको आरोप छ ।
जसअनुसार उनीविरुद्ध नागरिक कीर्ते, राहदानी कीर्ते र राष्ट्रिय परिचय पत्र कीर्ते कसुरमा पनि मुद्दा दायर गरिएको हो ।
तिब्बतीयन मुलका तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए । तर बाबु भनिएका व्यक्तिले समेत तेन्जिनलाई नचिन्ने बताएपछि नागरिकता गलत विवरण पेश गरेर लिएको प्रहरीले बताएको छ ।
उनीविरुद्धको मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ । बयान सकिएपछि थुनकेछ बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा मध्ये एक आदेश आउनेछ ।
यसअघि उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । त्यतिबेला उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय धरौटी माग भएको थियो । तर लागुऔषध र कीर्तेको अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो ।






