भोलि धुलिखेलमा काठमाडौ विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोह, सकियो तयारी
धुलिखेल/काठमाडौ विश्वविद्यालयले ३१ औ दीक्षान्त समारोहका गतिविधिहरुका बारेमा आयोजित कार्यक्रमका बारेमा जानकारी गराएको छ । दीक्षान्त समारोहमा २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुँदा धुलिखेल क्षेत्रमा करिव १० हजार भन्दा धेरै पाहुनाहरुको जमघट हुने अनुमान गरिएको छ ।
‘विगतका वर्षहरुमा हुने दीक्षान्त समारोह भन्दा यो वर्ष केहि फरक छ’–उपकुलपति प्रा.डा.अच्युत वाग्लेले भने–‘विश्वविद्यालयले थप शैक्षिक कार्यक्रम र योजना घोषणा गरेको छ । विश्वविद्यालयका लागि आवश्य पर्ने प्राध्यापक, सह प्राध्यापक र उपप्राध्यापकको दरवन्दी थप गरेको छ ।’ कार्यकारी परिषद्बाट निर्णय भएको ३५ जनाको दरवन्दी सिनेटले पास गरे पछि कार्यान्वयनमा आउने छ । अनुसन्धान र शैक्षिक क्षेत्रमा थप कार्य गर्ने गरी योजना निर्माण गरिएको बताउँदै उपकुलपति वाग्लेले जापानको एक विश्वविद्यालयसँग थप शैक्षिक कार्यक्रमका लागि सम्झौताको तयारी गरिएको जानकारी दिए ।
पछिल्लो समय प्रविधिको प्रयोगमा अघि बढेको एआई लगायतका कार्यक्रमहरु संचालन गर्न, गति र प्रगतिलाई अझै अगाडी बढाउन, विदेश जाने विद्यार्थीहरुलाई नेपालमा नै रोक्न, रोकिएका विद्यार्थीहरुलाई खोज र अनुसन्धान सहितको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयले नयाँ योजना निर्माण गरिरहेको उपकुलपति वाग्लेले बताए । रजिस्ट्रार प्रा.डा.राजीव श्रेष्ठले विश्वविद्यालयले शुरु गरेको अस्पताल निर्माण कार्य प्रारम्भ भएको बताउँदै काभ्रेपलाञ्चोक जिल्लामा रहेको काठमाडौ विश्वविद्यालयलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा चिनाउन नियमित शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताए ।
विश्वविद्यालयमा पहिलो पटक २५ जना विदेशी प्राध्यापकहरु कार्यरत छन् । खुल्ला माग गरिएकोमा करिव ४ सय प्राध्यापकहरुले आवेदन दिएका थिए । चालु शैक्षिक सत्रमा केहि शैक्षिक कार्यक्रममा सिट संख्या थपिएको छ । जसका कारण समेत विद्यार्थी भर्ना दरमा गत वर्षको तुलनामा यो वर्ष २३ प्रतिशत विद्यार्थी थपिएका छन् । काठमाडौ विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालनका लागि ८४ वटा संस्थाले इच्छा देखाउँदै आवेदन दिएका छन् । विदेशी विद्यार्थीको आकर्षण पनि थपिएको छ ।
पत्रकार सम्मेलनमा उपकुलपति वाग्ले, रजिस्टार डा.राजिव श्रेष्ठ, डिनहरु, प्रवक्ता उद्धव प्याकुरेल, दिनेश काफ्ले लगायतले विश्वविद्यालयका पछिल्ला शैक्षिक गतिविधि र दीक्षान्त समारोहका बारेमा धारणा राखेका थिए । दीक्षान्त समारोहमा अध्यक्षता गर्ने नेपालको पहिला महिला प्रधानमन्त्री शुशिला कार्की र प्रमुख अतिथी नेहरु विश्वविद्यालयका उपकुलपति प्रा.सान्तीश्री धुलिपुडी पण्डित दुबै महिला रहनेछन् ।





