प्रधानमन्त्री सुशीला कार्की आज काभ्रे आउँदै
बनेपा/काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आज ३१औँ दीक्षान्त समारोह हुँदैछ । उक्त समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्की आज काभ्रेपलाञ्चोक आउँदैछिन्।
समारोहको पहिलो चरणमा काठमाडौं विश्वविद्यालयका दुई हजार २०९ विद्यार्थी दीक्षित हुँदैछन्। तीमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी पनि समावेश छन्। प्रधानमन्त्री कार्कीको अध्यक्षतामा हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत उच्च अधिकारीहरूको उपस्थिति रहने कार्यक्रम छ।
समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिने तय भएको उपकुलपति प्रा. डा. अच्युत वाग्लेले जानकारी दिए।
यसपटक स्कुल अफ आर्ट्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ ल का ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल २,२०९ विद्यार्थी दीक्षित हुँदैछन्। दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका ७, स्नातकोत्तरका ३९७, पिजिडीका ५० र स्नातक तहका १,७२८ विद्यार्थी छन्।
अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्वीडेन, अमेरिका र भियतनामका गरी १९६ विदेशी विद्यार्थी दीक्षित हुनेछन्। समारोहमा उत्कृष्ट विद्यर्थीलाई विभिन्न पदकसमेत प्रदान गरिनेछ।
३१औँ दीक्षान्त समारोहको पहिलो चरणपछि काठमाडौँ विश्वविद्यालयबाट दीक्षित हुनेको संख्या ५० हजार ४० पुगेको छ। तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी रहेका छन्। विदेशी दीक्षितमध्ये सबैभन्दा धेरै ४,९७६ जना भारतका विद्यार्थी रहेका उपकुलपति वाग्लेले जानकारी दिए।






