काभ्रेमा बजार अनुगमन तीव्र, अखाद्य र म्याद गुज्रेका सामानहरु नष्ट

साँगा/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, जिल्ला समन्वय समिति, र काभ्रे उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विद्यालय, अस्पतालका क्यान्टिन तथा बजार अनुगमन गरेको छ ।

अनुगमनमा नेपाल पुलिस स्कुल सागाँको क्यान्टिन, हाम्रो चमेना गृह, शिरमेमोरियल अस्पताल परिसरको क्यान्टिन, अपाङ्ग बाल अस्पतालको क्यान्टिन, आकृति खाना खाजा घर, चण्डेश्वरी माता भोजनालय, राम लक्ष्मण खाजा घर, ज्योति स्टोर, बुद्ध गौतम खाजा/खाना घर, जुस पसल लगाएतमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा नेपाल प्रहरीको क्यान्टिनको समग्र सरसफाई अबस्था राम्रो रहेको, शिरमेमोरियल अस्पताल परिसरमा रहेको क्यान्टिनमा खाद्य पदार्थको सम्पर्कमा आउने सतहहरू सफा नरहेको, भाँडाहरु राख्ने दराज सफा नभएको, चपिङ्ग बोर्ड, चक्कु, मिक्चर, जस्ता उपकरण राम्ररी सफा नगरेको अवस्थामा पाईएको, चपिङ्ग बोर्डहरूमा प्लाष्टिक उप्किएको अवस्था रहेको, औषधिय वस्तु र खाद्य वस्तु एउटै कक्षमा भण्डारण गरेको, डस्टबिनहरुमा ढक्कन नभएको÷नलगाईएको, खाद्य वस्तु भण्डारण अवस्था सुधार सुधारोन्मुख पाईएको, किचेनको सरसफाई अवस्था सामान्य पाईएको बताईएको छ ।

त्यसै गरी अपाङ्ग बाल अस्पतालको क्यान्टिनमा काम गर्ने कामदारले एप्रोन हेयर नेट लगाएको र कामदारहरुको सरसफाई अवस्था सन्तोषजनक रहेको, किचेनको सरसफाई अवस्था सन्तोषजनक रहेको, खाद्य वस्तुहरुको भण्डारण अवस्था सन्तोष जनक रहेको, खाद्य वस्तुको प्रकृति अनुसार भण्डारण व्यवस्था मिलाईएको, समग्र अवस्था सन्तोषजनक पाईएको अनुगमन संयोजक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापाईले जनाकारी दिईन् ।

चापागाईले अन्य होटल तथा पसलहरुमा लेबल नभएका र पूर्ण लेबल विवरण नभएको खाद्य वस्तु खरीद गर्ने गरेको, तारेर÷पकाएर खाईने खाद्य पदार्थमा सिन्थेटिक रङ्ग प्रयोग गरेको, किचेनको सरसफाई अवस्था सुधारोन्मुख रहेको, किचेनमा राखिएका डस्टबिनहरुमा ढक्कन नभएको÷नलगाईएको पाईएको बताईन् । उनिहरुलाई सचेत गराई अखाध्य र म्याद गुज्रेको सामानहरु नष्ट गरिएको चापागाईले बताईन् ।

अनुगमनका क्रममा तारेर/पकाएर खाईने खाद्य पदार्थमा सिन्थेटिक रङ्ग प्रयोग नगर्न, र खाद्य स्वच्छताको मापदण्डको पालना गर्न निर्देशन दिईएको र लेबल नभएको र म्याद गुज्रेका सामानहरु नष्ट गरिएको चापागाईले बताईन् । अनुगमनमा क्रिम डुनट १० प्याकेट पफ ९ प्याकेट, सादा डुनट ५ प्याकेट, कप केक २ प्याकेट, क्रिम रोल ८ प्याकेट, कोक, फ्यान्टा, अचार २०० ग्रामको ३० प्याकेट, मसला ५० ग्रामको १० प्याकेट, पास्ता, काला नमक, बिस्कुट, सुप पाउडर १२ प्याकेट, निम्बु पानी, ट्युबोर्ग लगाएतका खाध्य सामाग्रीहरु नष्ट गरिएको थियो ।