काभ्रेमा लैङ्गिक हिंसा विरुद्धको अभियानः ३ जना सम्मानित, माविस्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिता

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले विविध सचेतनामूलक कार्यक्रम सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा लैंगिक हिंसा न्यूनिकरणका लागि सक्रिय ३ जनालाई सम्मान गरिएको छ । मानवअधिकारकर्मी भोजराज तिमल्सिना, धुलिखेल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र प्रमुख डा. सम्झना बस्नेत र शिर मेमोरियल अस्पताल बनेपामा महिला तथा बालबालिका साथै सामाजिक सुरक्षाको क्षेत्रमा क्रियाशिल डा. एन्जिला बस्नेत सम्मानित भएकी छन् ।
जिल्ला समन्वय समितिले सचेतनामूलक अभियान अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं शीर्षकमा आयोजित अनलाइन वक्तृत्वकला प्रतियोगितामा जनक मावि भकुण्डेवेशीमा अध्ययनरत छात्रा अन्जली काफ्ले प्रथम भएकी छन् । यस्तै मण्डनदेउपुर नगरपालिको डेडीथुम्का माविकी रोशनी रम्तेल द्धितिय र महाभारत गाउँपालिकाको ग्रामोन्नती माविकी कुशुम मोक्तान तृतीय भएकी छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले लैंगिक हिंसा शुन्य सहनशिलता अभियानमा जुट्न आग्रह सबैलाई आग्रह गरेका छन् । हिंसा सबैको प्रयासबाट मात्रै अन्त्य गर्न सकिने उनको भनाई थियो । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हिंसा बाधक रहेको उनले बताए । मानवअधिकारको रक्षा र सभ्य समाज निर्माणका लागि हिंसा गर्दैनौं, अरुलाई पनि गर्न दिदैनौं भन्ने प्रण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, भूमि आयोग काभ्रेका प्रमुख विदुर हुमागाँई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, जिल्ला स्थित सरकारी कार्यालय, गैरसरकारी कार्यालय लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो । जिल्ला समन्वय समितिले हरेक वर्ष फरक फरक सचेतनामूलक कार्यक्रम सहित लैंगिक हिंसा विरुद्धको अभियान गर्दै आइरहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्षको ४ महिना अर्थात कार्तिक मसान्तसम्म महिला तथा बालबालिकाविरुद्धको अपराधमा ११ वटा मुद्दा दर्ता भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा जवरजस्ती करणी २६, जवर्जस्ती करणी उद्योगमा ६, बहुविवाह ४, मानव बेचविखन २, बालविवाह १ र बाल यौन दुरुपयोगको ४ वटा मुद्दा दर्ता भएको थियो । गत वर्ष घरेलु हिंसाका १४४ मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा १८३, आर्थिक वर्ष २०७९/८० मा १८६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पिछल्लो तीन वर्षको तथ्यांक हेर्दा हिंसाको घटना क्रमशः घट्दै गएको देखिन्छ । यद्यपी हिंसाको रुप भने फेरिएको छ । अधिकांश हिंसामा घरपरिवार र आफन्तबाट नै महिलाहरु पिडित हुने गरेको तथ्यांक छ । तर पछिल्लो समय प्रविधिलाई माध्यम बनाएर हुने हुने हिंसा बढेको छ ।

प्रहरीसम्म आइपुगेका मुद्दा र जिल्ला अदालत काभ्रेपलाञ्चोक सम्म पुग्ने लैंगिक हिंसाका मुद्दामा भने ठूलो अन्तर छ । मेलमिलाप, प्रमाण नपुग्ने र सम्बन्ध विच्छेद लगायतका कारण अदालतमा दर्ता मुद्दाको संख्या कम भएको हो । चालु आर्थिक वर्षमा एउटा मात्रै घरेलु हिंसाको घटना दर्ता भएको छ । यसअघिका दुई आर्थिक वर्षमा ४/४ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएको थियो ।