समृद्ध नेपाल, सुखी नेपाली अभियान साकार पार्न : लोकतन्त्र लिकमा ल्याउन एकपटक अझै केपी ओलीको नेतृत्व

केपी ओलीको विरुद्धमा थुप्रै षडयन्त्रहरु भएका र हुने गरेका छन् । पछिल्लो समय जेन–जीको नाममा भएको षडयन्त्रको वास्तविकाता विस्तार विस्तारै खुल्दै गएसंगै नेपालमा मात्र हैन, विश्वभर उहाँको लोकप्रीयताको पारो चढिरहेको छ । यसको मतलव नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७ दशकभन्दा लामो जीवन सङ्घर्षमय छ । उहाँको वास्तविक नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा केपी ओलीको नामबाट परिचित हुनुहुन्छ । उहाँ र उहाँको राष्ट्रवादलाई माया गर्नेहरुले ‘केपी बा’ भनेर सम्बोधन गर्ने गर्छन् ।

नेता ओलीले राजनीतिको शिखरसम्म आइपुग्न ५८ वर्ष लामो सङ्घर्षपूर्ण यात्रा तय गर्नुभएको छ । १४ वर्ष कठोर कारावास अर्थात जेल जीवन भोग्नु भएका ओली मुलुकको शक्तिशाली पार्टी नेकपा एमालेको अध्यक्ष र देशको चार पटक कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्न सफल हुनुभयो । निरङ्कुश पञ्चायती व्यवस्थामा ओलीले जीवन नै जोखिममा राखेर राजनीतिक संघर्ष गर्नुभयो । त्यही संघर्षबाट प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट ओलीले पार्टी र देशको नेतृत्वको यात्रा सुरु गर्नुभएको हो ।

ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षको गर्भबाट भएको हो । देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट विकसित नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यवहार र आचरणको सङ्गति कायम गर्न ओली सफल हुनुभएको छ ।

– मृत्युदण्डको तरबार:
निरङ्कुश शासन सत्ताले टाउकोमाथि हरेक क्षण मृत्यु दण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरबारमा आसीन हुँदा– ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित हुनुभयो । तेह्रथुम जिल्लाको आठराई इवा गाउँको साधारण किसान परिवारमा बुवा मोहनप्रसाद ओली र आमा मधुमाया ओलीबाट वि।सं। २००८ साल फागुन ११ गते उहाँको जन्म भयो । चार वर्षको उमेरमै आमा मधुमाया ओलीको निधन भएपछि उहाँ मातृस्नेहबाट विमुख हुनुभयो । आमाको स्नेही काख गुमाउनु भएका ओलीको पालनपोषण हजुरआमा राममाया ओलीबाट भयो । ग्रामीण किसान परिवारमा जन्मेर गाईवस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम गर्नुभयो ।

– पटक पटक गिरफ्तार:
तेह्रथुम छाडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ स¥यो । नयाँ ठाउँमा नयाँ साथी फेला परे । नयाँ ठाउँमा नयाँ साथी भेट्दा समाजका चालचलन र वरपरका घटनाबारे जिज्ञासा र प्रश्नहरु जन्मिन्छन् । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने हेलाहोचो, भेदभाव र पक्षपातका प्रश्नको उत्तर खोज्नतिर प्रेरित ग¥यो ।

एकातिर मनमा उब्जिँदै गरेका जिज्ञासा र अर्कोतिर सङ्गतमा आएका नयाँ साथीसँगको सहकार्यले उहाँमा राजनीतिक चेतको विकास भयो । यसैक्रममा १५ वर्षीय किशोर उमेरमै २०२३ सालमा उहाँ माक्र्सवादी अध्ययन दलमा सामेल हुनुभयो । यसमा मुख्य अगुवा हुनुहुन्थ्यो, रामनाथ दाहाल । दाहाललाई पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥यो, जो झापा आन्दोलनका शहीद हुनुहुन्छ ।

माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै २०२५ सालमा ओली पूर्णकालीन राजनीतिमा सामेल हुनुभयो । त्यतिबेला उहाँ १७ वर्षको हुनुहुन्थ्यो । त्यसको एक वर्षमै २०२६ साल माघमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाउनुभयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उहाँ गिरफ्तारीमा पर्नुभयो । त्यसपछिका चार वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो ।

झापा बसाइँ सरेपछि ओलीका बुबा मोहनप्रसाद ओली एउटा विद्यालयको जग्गा ठेक्कामा लिएर खेती किसानीमा लाग्नुभयो । जग्गा भाडामा लिएर खेती गर्दा राम्रै कमाइ भइरहेको थियो, तर खोला पसेर जग्गा बगायो । त्यसपछि राम्रै आम्दानी भएको परिवार झण्डै सुकुम्बासीको स्थितिमा पुग्यो । त्यसबेला ओलीले खेती किसानीमा बुवालाई सघाउनु हुन्थ्यो । परिवारको आर्थिक अवस्था सम्हाल्न आफैंले काम गर्नुपर्ने अवस्था भए पनि उहाँ भूमिगत राजनीतिमा सामेल भइसक्नुभएको थियो। जुन समयबाट केपी शर्मा ओलीको निजी पारिवारिक जीवन अनिश्चित बन्दै गयो र कम्युनिस्ट पार्टीको जीवनले नयाँ सिंढीमा पाइला टेक्यो ।

देशमा निरंकुश पञ्चायती व्यवस्था थियो, जनतामा राजनीतिक दल खोल्ने, बोल्ने, लेख्ने अधिकार थिएन । स्वतन्त्र राजनीतिक चेतनाका लागि समाज कठोर कारागारजस्तै थियो । न्याय र समानताको माग गर्दै ओलीको नेतृत्वमा झापा आन्दोलन सङ्गठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीव्र र कठोर दमन ग¥यो । ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारी नेता २०३० साल असोज २३ गते पक्राउ परे ।

– १४ वर्ष लामो कारावासको सन्दर्भ:
ओलीले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताउनुभयो । उहाँका पाँचजना सहयोद्धालाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरियो । जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण सफल हुन सकेन ।

जेलभित्रको पनि जेल मानिने गोलघर जहाँ मानसिक स्थिति बिग्रेकालाई राखेर यातना दिइन्थ्यो, त्यहाँ राखेर उहाँलाई चरम यातना दिइयो । उहाँकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे लेख्नु भएको छ, ‘‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबका लागि बाहिर जान छुट थिएन । त्यहीँ खाने, त्यहीँ शौच गर्ने, दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे । ओढ्ने–ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो ।’

संयोगवश मृत्युको मुखबाट फर्किनु भएका ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापकको हैसियतमा रहनुभयो । जेलभित्र निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठूलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रह्यो । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा मालेको केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन र्गयो र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालन गर्न लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।

नेपाली कांग्रेस र नेकपा माले समेतको नेतृत्वमा सञ्चालित २०४६ सालको जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नुभयो । २०४७ पुस २२ गते नेकपा माले र नेकपा माक्र्सवादी बिच पार्टी एकीकरण भएर नेकपा एमाले बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य बन्नुभयो ।

– सफल गृहमन्त्री:
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको आम निर्वाचनमा संसद्को तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट र त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यसबिचका विभिन्न समयमा पार्टीको पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा रहनुभयो ।

ग्रामीण वर्ग सङ्घर्षको गर्भबाट राजनीतिक जन्म लिनुभएका ओली निरङ्कुश व्यवस्थाविरुद्धको कठिन सङ्घर्षबाट खारिँदै बहुदलीय व्यवस्था प्राप्तिपछि २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नुभयो ।
कामकै दौरानमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर नेपालगञ्जबाट फर्किंदा प्रधानमन्त्री मनमोहन अधिकारीसहित गृहमन्त्री केपी शर्मा ओली हेलिकोप्टर दुर्घटनामा पर्नुभयो । पाइलट किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उहाँहरु दुर्घटनाबाट बच्न सफल हुनुभयो ।

२०५४ माघमा भएको नेकपा एमालेको छैठौं राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तुत गर्नुभएको ‘शक्ति सञ्चय’ को कार्यनीति महाधिवेशनले अत्यधिक मतले पारित गरेको थियो । महाधिवेशनबाट ओली पार्टी स्थायी कमिटी सदस्य र विदेश विभाग प्रमुखमा चुनिनु भयो ।

जनकपुरमा २०५९ सालमा भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक लोकतान्त्रिकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत गर्नुभयो । तर, महाधिवेशनले उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि भन्दै स्थगित र्गयो । जुन प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौं राष्ट्रिय महाधिवेशनले पारित र्गयो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभयो ।
मुख्य नेता जो भए पनि ओलीको नीतिगत दिशानिर्देशमाथि पार्टी कार्यकर्ताको भरोसा रहेको कुरा आठौं राष्ट्रिय महाधिवेशनले स्थापित र्गयो । त्यस परिघटनाले उहाँलाई समाजको पदचाप बुझ्न सक्ने नेताका रुपमा नेकपा एमालेको कार्यकर्ता पङ्तिले अनुभूत गरेको पाइन्छ ।

उग्रवामपन्थी अतिवादले सिर्जना गरेको दबदबा र त्यसभित्र निहित दक्षिणपन्थी अवसरवादको आधारभूमिलाई ओलीले समयमै बुझ्नु भएको कुरा नेपालको सिङ्गो राजनीतिक वृत्तमा महसुस हुन थाल्यो । त्यस बिन्दुबाट केपी शर्मा ओलीको परिचय पार्टीको मात्र नेता नभएर देशको समग्र राजनीतिक वृत्तको ध्यान खिच्ने र आफ्नो मार्गदर्शनमा हिँडाउन सक्ने नेताका रुपमा स्थापित भयो ।

– उप प्रधानमन्त्री र विदेशमन्त्री : 
२०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनुभएका ओली संसद्मा संसदीय दलको उपनेतामा निर्वाचित हुनुभयो । २०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि ओली उपप्रधानमन्त्री र विदेशमन्त्री बन्नुभयो । ओली २०५७ देखि हालसम्म अफ्रो एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन नेपालको अध्यक्ष हुनुहुन्छ ।
२०७० मंसिरमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका ओली त्यसलगत्तै माघमा भएको संसदीय दलका नेता चयनका लागि भएको निर्वाचनमा पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित हुनुभयो ।

– अध्यक्ष र प्रधानमन्त्री निर्वाचित:
२०७१ साउनमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता तथा लगातार १५ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नुभएका माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो । पार्टी अध्यक्षमा उहाँ निर्वाचित भएपछि पार्टीको भूमिकाको प्रभावकारिता बढेको आम राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो ।
पार्टीको आन्तरिक राजनीतिमा ओलीको निर्णायक हैसियतमा वृद्धि भएसँगै २०७२ असोज २५ गते उहाँ पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि बाह्य पक्षको थिचोमिचो हुँदा दृढतापूर्वक उभिने ओलीको विदेश नीति सबैसँग मित्रताको पक्षमा मुखर हुने गरेको छ ।

नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, छैन कसैसँग पनि शत्रुता’ भने झैं अध्यक्ष ओलीले भन्नुभएको छ, ‘‘हामी सबैसँग मित्रता चाहन्छौं । हामी समानताका आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौं ।” सरकारमा साझेदारी गरेको नेकपा माओवादी केन्द्रले आफू सम्मिलित ओली नेतृत्वको सरकारलाई ढाल्न अविश्वास प्रस्ताव राख्यो । २०७३ साउन १९ गते संसद्लाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

यही पृष्ठभूमिमा २०७४ सालको आम निर्वाचनपछि नेकपा माओवादी केन्द्र समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभयो । यसै अवधिमा उहाँले २०७८ वैशाख ३० गते पुनः प्रधानमन्त्री पदको शपथ लिनुभयो । पार्टीमा आएको विग्रह र सर्वोच्च अदालतको फैसलापछि उहाँ २०७८ असार २९ गते पदमुक्त हुनुभयो । सरकारमा हुँदा गरेको नाकाबन्दीको सामना, चीनसँगको पारवहन सन्धि, लिम्पियाधुरा–लिपुलेकसम्मको छुटेको भूभागलाई समेटेर जारी गरिएको देशको नयाँ नक्सा, विकास निर्माणका काममा तीव्रता, सामाजिक सुरक्षाका कार्यक्रम उहाँकै नेतृत्वमा सम्भव भएका हुन् ।

दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । पार्टी एकीकरणको नियत र गन्तव्यमा भने ओली र अन्य केही नेताका बिच भिन्नता रहेको तथ्य झण्डै तीन वर्षपछि भएको पार्टी विभाजनले पुष्टि र्गयो ।

– ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता:
२०७८ मङ्सिर १० गते चितवनमा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो । राजनीतिक उतार चढावसँगै उहाँ २०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । अध्यक्ष ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता हुनुहुन्छ । चौथो पटक प्रधानमन्त्री बन्नु भएका ओलीले यसअघि नै घोषणा गर्नुभएको छ, ‘‘हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौँ । देशका विभिन्न शक्ति जो सही ढङ्गले लोकतन्त्र, राष्ट्रियता, सुशासन, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन् । जो समृद्धि, सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव वृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन् । ती सबै शक्ति र व्यक्तिसँग पनि हामी मिलेर काम गर्न चाहन्छौँ ।”

समृद्ध नेपाल, सुखी नेपालीको नारा नेपाल र नेपालीको वृहत्तर हितको लागि परिकल्पना गरिएको समय सुहाउँदो सान्दर्भिक नारा हो । तसर्थ, यसलाई सार्थकता दिन यसको औचित्य र व्यावहारिकतालाई सबै जन–जनको आचरण र व्यवहारमा परिणत गर्न सक्नुपर्छ तथा यसको सफल कार्यान्वयनको लागि सरकार जिम्मेवार भई औद्योगिक नीति र व्यवहारलाई परिस्कृत र सशक्त बनाउनु पर्छ । नेपाल र नेपालीको भविष्य सरकारले अपनाउने नीति र व्यवहारमा अडेको हुन्छ ।

समृद्धिको नारा औद्योगिक नीति र व्यवहारमा भर परेको हुन्छ । उद्योगबिनाको समृद्धि कोरा नारा मात्र मानिन्छ । जहाँ औद्योगिक विकासले फड्को मार्छ त्यहाँको जनजीवन उच्च र आर्थिक अवस्था मजबुत हुन्छ । आर्थिक सम्पन्नताको बलियो आधार राष्ट्रिय औद्योगिक विकास हो । उद्योगबाट नै राष्ट्रिय अर्थनीति बलियो हुन्छ र नयाँ–नयाँ अवसरहरु सिर्जना हुँदै जान्छ । उद्योगबाट नै रोजगारीको अवसर सिर्जना भई जीवनस्तर मजबुत बन्नसक्छ । जब जनचेतनाको वृद्धिसँगै रोजगारीको अवसर जुट्न पुग्छ तब सिर्जनात्मक प्रतिभाको प्रष्फुटन हुने अवसर जुट्दछ ।

मानिसमा अन्तरनिहि दिव्यताले जब मूर्त रुप लिने अवस्था रहन्छ तब त्यहाँ समृद्धिका ढोका स्वतः उघारिँदै जाने स्थिति हुन्छ । भौतिक पूर्वाधारदेखि मानिसका आवश्यकताहरु परिपूर्ति हुँदै जाने अवसरको सिर्जना हुनु समृद्धि हुनु हो । जहाँँ समृद्धिको अवसर जुटेको हुन्छ त्यहाँ मानवीय चेतनाले पनि राम्रा र आवश्यकताको पहिचानसँगै विचारमा पवित्रताबोध हुने परिस्थिति जन्मन्छ । जब के खाउँ, के लाउँ भन्ने अवस्थाको अन्त्य हुन्छ तब विचारमा परिस्कृत भई समय सुहाउँदो विकासका ढोका आफै खुल्ने अवस्था सिर्जित हुनपुग्छ । मानिसको विचार र चिन्तनमा प्रतिशोधको भावना जागृत नभई एकअर्कामा आवश्यकताको परिपूर्ति गर्ने गराउने वातावरण उत्पन्न हुन पुग्छ ।

मानिसको व्यवहार र मित्रतामा सौहार्दपूर्ण वातावरण सिर्जना हुन्छ । कर्म र व्यवहारमा शुद्धता आई प्रेम र सद्भाव बढ्दछ । भाइ–भाइबीचको सम्बन्धमा मजबुतता आउँछ, समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन पुग्छ । प्रत्येक नेपाली रोजगार भई विदेशी भूमिमा सीप र श्रम खर्चने अवस्था आउँदैन । तसर्थ, समृद्धिको नारा सार्थक बनाउन औद्योगिक नीति चुस्त र दुरुस्त बनाउनुका साथै स्वदेशी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । राष्ट्रिय राजनीतिलाई समृद्ध नेपालसँग गाँसिएको नेपालको पूर्वाधारसँग मेल खाने गराउनु पर्छ ।

नेपाल भूपरिवेष्ठित राष्ट्र हो । सामुद्रिक सुविधाबाट केही टाढा भए तापनि यहाँको भौगोलिक बनोट, प्राकृतिक छटाले ओतप्रोत भएर देखापरेको छ । हिमाल, पहाड, तराई भएर रहेको यहाँको पर्यावरणीय परिवेश स्वच्छ, सफा र सुन्दर हरियालीले परिपोषित भएर रहेको यहाँको सुन्दरता संसारको लागि आकर्षकको केन्द्रको रुपमा परिचित छ । सर्वोच्च शिखर हिमालको काखमा रहेको यहाँको पाखा, पर्वत, हिमशृंखला, झरना तथा समथर भूमि एवं तराईका फाँटमा लटरम्म फलेका धानका बाला साच्चिकै मनमोहकको रुपमा प्रस्तुत भएका छन् ।

प्राकृतिक सुन्दरताले ओतप्रोत यहाँको बस्ती, समाज तथा यहाँका बासिन्दाको असल व्यवहार एवं संस्कार सबैको लागि आकर्षणको केन्द्र बनेर रहेको छ । आदर, सम्मान र इमान्दारीको ज्वलन्त उदाहरण भएर देखापरेको यहाँको रहनसहन, आचरण र वीरता विश्वपरिवेशको लागि मनै लोभ्याउनेखालको छ । विश्व समुदायले प्रत्येक नेपालीको इमानदारीलाई विश्वास गरेको पाइन्छ । नेपालीको विशेषता भनेकै पारदर्शीता र इमान्दारी रहेको विश्वले स्वीकार गरेको अवस्था छ । यसरी विश्वसामू पहिचान बोकेको नेपालको इतिहासमा हाल आएर राजनीतिक विचलनको कारण समृद्ध नेपालको नारा कागजमा सीमित हुन पुगेको छ ।

विकासका पूर्वाधारहरु राजनीतिक आवरणबाट परिपोषित भई स्वार्थ प्रेरक देखापरेका छन् । केही समय यता यहाँको समृद्धि कसरी गर्ने हो भनी छलफलको विषय नबनेको होइन । तथापि, राजनीतिक सोच र चिन्तनको कारण यहाँका औद्योगिक विकासका पूर्वाधारहरु जीर्ण हुन पुगेको छ । भौतिक विकास नै एक मात्र आधार भएको परिप्रेक्षमा राजनीतिको ध्यान अन्तै मोडिएको छ । राष्ट्रिय समृद्धि र सुशासनयुक्त असल शासन नेपाल र नेपालीको चाहन भएको स्वीकार्दै नेताहरु यसको समृद्धिको आधार तयार गर्ने जमर्को गरिरहेको त पाइन्छ, भौतिक उन्नति नै समृद्धिको आधार भनेर आवश्यक पूर्वाधार गरिने कार्यमा योजना त बनाइँदै छ, यति वर्षमा राज्यलाई यो अवस्थासम्म पु¥याउने भनी दस्ताबेजमा लेख्न र राजनीतिक भाषण गर्न प्रत्येक दल लागिपरिरहेकै अवस्था छ ।

तथापि, कर्म र व्यवहारमा भिन्नता देखापरेको छ । सपनाको महल खडा गरी जनसाधारणलाई आशाको खेतीमा रमाउन प्रत्येक दल लागिपरेका पनि छन् । म, हाम्रो पार्टीले यस्तो गछौँ, उस्तो गर्छौं भनी सपनाको खेती गर्न कुनै पनि पार्टी कमजोर छैनन् । तर, औद्योगिक क्षेत्र निर्धारण गरी बेरोजगारी कम गर्नेतर्फ खासै चासो बढेको पाइँदैन । नारा त प्रशस्त उठेका छन् तर पनि उपलब्धिमूलक देखिँदैन । उद्योगबिना राष्ट्रको श्रमशक्ति विदेशिन वाध्य भएको छ । सहरीकरणलाई प्रगतिको मुख्य सूचक बनाइए पनि यसको पूर्वाधकार बनाउनका लागि आवश्यक पर्ने भौतिक सामग्रीको उत्पादन कमजोर छ ।

आधारबिनाको उद्योगले केही सहुलियत दिन खोजे पनि ठूला–ठूला उद्योगधन्दाहरु नेपालमा सञ्चालन हुन सकेका छैनन् । वर्षेनी नेपाली श्रम र सीप विदेशी भूमिको ५० डिग्रीको गर्मीमा पसिना बगाउन वाध्य छन् । राष्ट्रिय अर्थतन्त्र रेमिट्यान्समा चलेको अवस्था छ । उद्योगबिनाको औद्योगिक क्षेत्र घोषणाले मात्र राष्ट्र समृद्ध नहुनेतर्फ केही मात्राको ध्यान यतातर्फ गए पनि राज्यले यसमाथि गति लिन सकेको छैन । राष्ट्रिय बजेटको आधाभन्दा बढी हिस्सा चालु खर्चमा रहेको देशको अर्थतन्त्र विदेशी ऋण र रेमिट्यान्समा अल्मलिएको छ ।

भइरहेका उद्योग, कलकारखानाहरु निजीकरण हुँदै नामोनिसान मेटाउनेतर्फ राजनीतिको ध्यान बढी केन्द्रित भएको छ । उद्योगमा लगानी कमजोर छ, उद्योगबिनाको औद्योगिकीकरण शून्य बराबर हुने कुराको बोध हुँदाहुँदै पनि विज्ञको सल्लाह र सुझावलाई खासै बढावा दिएको पाइँदैन । जति पनि नीति बनेका छन्, त्यसको प्रभावकारी परिचालन भएको छैन । वर्तमान अवस्थालाई हेर्ने हो भने अहिले राष्ट्रमा ऋणको भार बढेको छ ।

निर्यात व्यापार कमजोर छ । स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहन सकिने चामल समेत बाहिरबाट आयात गरिँदैछ । आम्दानीभन्दा खर्च बढेको छ । राजनीतिको सोच उद्योग नीतिभन्दा सुविधातिर बढी आकर्षित छ । भ्रष्टाचारमुक्त र स्वार्थरहित चिन्तनबाट जबसम्म राजनीति परिचालन हुँदैन तबसम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा केवल कागजमा निर्भर रहने अवस्था छ ।
त्यसैले विकासको लागि राजनीति गरी केवल राजनीतिको लागि विकास गरी टोपल्ने प्रवृत्तिको अन्त्य गरी राष्ट्रि राजनीतिलाई विकासको बलियो आधार बनाउन औद्योगिकीकरण गर्न नेतृत्वको गम्भीर ध्यान जान जरुरी छ । हुन त केही समय यता कोरोनाको सन्त्रासले आक्रान्त भएको र बाढीपहिरोका कारण पीडित भएको यस अवस्थामा यस्ता आदर्श कुरा त्यति उपयुक्त नहोला । तर, रोग बाहेक जे–जति नोक्सानी भएका छन् ती सबै हाम्रो बुद्धि र विवेकशीलता तथा दूरदर्शी चिन्तनको अभावबाट भएको होइन भन्ने आधार कमजोर हुनसक्छ ।

तसर्थ यसलाई यति राख्दै रोजगारीको अवसरले ल्याउने समृद्धिको आँकलन गरी प्रत्येक नेपालीको श्रम र सीपलाई स्वदेशमै प्रयोग गरिने गरी उद्योगका अवसर बढाई समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउन सक्नुपर्छ । प्रत्येकले आफ्नो छातीमा हात राखी प्रतिबद्धता जनाउनु पर्ने छ । भ्रष्टाचारमुक्त आदर्श समाज र समृद्ध नेपालको सपना तब मात्र सार्थक बन्नसक्छ जब राजनीतिक सोच र चिन्तनमा निःस्वार्थपरक भावना जागृत भई पारदर्शी चरित्र निर्वाह हुने परिस्थिति बन्दछ ।

औद्योगिक नीतिलाई व्यवहारगत लागू गर्न जब राजनीतिक दृढता अघि बढ्छ तब नेपालले विकासमा फड्को मार्न सक्छ । प्रकृतिक जलस्रोतको धनी भएर पनि यसको उचित प्रयोग हुन नसकिएको अवस्थाले वर्तमान परिस्थिति उब्जिएको हो । तसर्थ, यसलाई बेलैमा सोची कार्ययोजनालाई मूर्त रुप दिन सबै प्रतिबद्ध बन्नुपर्छ ।

यो सबै चिजको नेतृत्वको लागि एक पटक पुनः केपी शर्मा ओली पार्टीमा र देशमा नविकरणको आवश्यक्ता छ । मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशन त्यस दिशातर्फ उन्मुख हुनुपर्छ र होस्, शुभकामना !