एमाले नेता बास्कोटाको प्रस्ताव–प्यानलबन्दीले क्षति हुन्छ, सर्वसम्मतिको प्रयास गरौं
नेकपा एमालेका प्रभाशाली नेता गोकुल बास्कोटाले गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशनको संघारमा पार्टीभित्र मुख्यगरी दुई कित्तामा आरोप प्रत्यारोप चलिरहँदा बास्कोटा दुवैतिर खुलेर देखिएका छैनन् ।
उनले एउटा धारमा प्रष्ट देखिने भन्दा पार्टी मिलाएर लैजानुपर्छ भन्नेमा जोड दिएका छन् । बास्कोटाले ओली फेरि अध्यक्ष बन्नेगरी विधानमै संशोधन गरिसकेको अवस्थामा पार्टीमा सहमति र एकता कायम गर्ने जिम्मेवारी पनि उनकै हुने बताए ।
११ औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी सचिवमा रहने घोषणा गर्दै उनले प्यानल बनाएर चुनाव लड्दा क्षति हुने चेतावनी समेत दिए । सम्भव भएसम्म सर्वसम्मति, नभए स्वतन्त्र ढंगले व्यक्तिहरुलाई प्रतिस्पर्धा गर्न दिएर महाधिवेशन प्रतिनिधिमार्फत चयन हुने जबजको विधिमा जान सकिए पार्टीमा हार्दिकता र चुनावपछि पनि एकता कायम हुने बास्कोटाले बताए ।
पार्टीको अभिभावक भइसकेपछि सबैलाई समेटेर नेतृत्व चयनको प्रस्ताव ल्याउने दायित्व पनि ओलीकै भएको बास्कोटाको भनाइ छ । उनले फरक मत राख्ने वा प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्न खोज्नेलाई दपेट्ने वा कालापानी खेद्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने भन्दै आसन्न महाधिवेशन र निर्वाचनलाई स्वच्छ र स्वस्थ बनाउन जोड दिए ।
प्रतिस्पर्धा गर्न उत्रिएका एउटै पुस्ता र लामो इतिहास बोकेका नेताहरुलाई हारेपछि माधव नेपाल र भीम रावलको जस्तो नहोस् भन्ने ढंगले मानमर्दन गर्ने वा खेद्ने प्रवृतिको पनि बास्कोटाले खरो आलोचना गरेका छन् ।
एमालेको महाधिवेशनपछि ठूलो विद्रोह हुने र नेताहरू आफूतिर आउने भनेर नेकपाका संयोजक प्रचण्ड तथा सहसंयोजक माधव नेपालहरूले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै बास्कोटाले भने–उनीहरूले सपना देख्न पाउँछन्, ढोक्सा थापेर बस्न सक्छन् तर प्रचण्ड माधवको ढोक्सामा केही पर्ने वाला छैन । नेकपा एमाले अझ बलियो, सुदृढ भएर जान्छ र उनीहरुतिरका मान्छेलाई पनि हामीतिर ल्याउने हो ।
अर्को प्रसंगमा बास्कोटाले अहिलेको सरकार गठन र प्रतिनिधिसभा विघटन संविधानविपरीत भए पनि अब यो विषय अदालतमा गइसकेकाले चुनाव वा पुनःस्थापना दुबै विकल्पमा एमाले तयार रहेको बताए । तर, अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद लगाएर, अनेक ढंगले ट्रायल गरेर चुनाव नहुने समेत बास्कोटाले प्रष्ट पारेका छन् ।






