कुशादेवीमा प्रथम काभ्रे जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिता पौष ४ देखि
कुशादेवी, पनौती/पनौती नगरपालिका वडा नम्वर १, २ र ३ साविक रयाले र कुशादेवीको आयोजनामा आगामी पौष ४ देखि ६ गतेसम्म प्रथम काभ्रे जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिता २०८२ हुने भएको छ । कुशादेवी तेक्वान्दो डोजाङ्गको सह आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४ सय खेलाडी सहभागि हुनेछन् ।
वडा नम्वर ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न प्रतियोगिता सम्वन्धी जानकारी दिन आयोजित कार्यक्रममा उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बञ्जाराले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिदै विविध कार्यक्रम आयोजनामा नीति र बजेट समावेश गरेको बताईन् । उक्त कार्यक्रमलाई २ लाख बजेट विनियोजन गरेको बताउँदै बञ्जाराले खेल र खेलाडी उत्पादन, खेल क्षेत्रको मनोबल उकास्न र खेलाडीहरुलाई ब्यवसायीक रुपमा सक्षम बनाउन स्थानीय स्तरमा प्रशिक्षण केन्द्रहरु तयार गर्नु पर्ने बताए ।
कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले प्रतियोगिताका बारेमा जानकारी गराउँदै वडा स्तरीय बजेट र विभिन्न संघ संस्थाको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने बताए । २०५२ सालमा पनौती ७ स्थायी भएका तेक्वान्दो गुरु रामचन्द्र कर्माचार्यले प्रशिक्षण दिई शुरु भएको उक्त खेलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु तयार भएको बताए । पनौती नगरपालिकाबाट अन्तराष्ट्रिय खेलमा संजीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरे लगायतका खेलाडीहरुले गोल्ड मेडल जितेका छन् ।
पछिल्ला दिनमा तेक्वान्दो संघका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलंकामा आयोजित प्रथम दक्षिण एशियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती नगरपालिका वडा नम्वर २ का कुशल हुमागाई र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाई, मलेसियामा केशव थापा, थाईल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटा लगायत सहभािग भई विभिन्न मेडलहरु प्राप्त गरेका छन् ।
प्रतियोगिताका बारेमा जानकारी दिदै अध्यक्ष केशव थापाले विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुने जानकारी दिए । महिला तर्फ २० केजी ५८ केजीसम्म र पुरुष तर्फ २२ केजी ६० केजी तौल समुहका बीच प्रतिस्पर्धा हुने छ । २० स्वर्ण, २० सेकेन्ड मेडल र ४० वटा तेश्रो मेडल सहित प्रथम ट्रफि, दोश्रो ट्रफि र नगद पुरस्कार समेत उपलब्ध हुनेछ । प्रतियोगिताका लागि १० लाख रुपैया भन्दा धेरै खर्च हुनेछ । कार्यक्रममा वडा सदस्यहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु तथा खेलसँग सम्वन्धित ब्यक्तिहरुको सहभािगता रहेको थियो ।





