इसिमोडबाट हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण
काठमाडौं/इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (HUC) को सचिवालय आधिकारिक रूपमा काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ। इसिमोडको मुख्यालयमा आयोजित समारोहमार्फत यस सम्बन्धी घोषणा गरिएको हो।
सन् २००७ मा स्थापना भएको एचयूसी हिन्दुकुश–हिमालय क्षेत्रमा रहेका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूबीच सहकार्य, ज्ञान–विनिमय र साझा विकास चुनौती समाधानमा केन्द्रित सञ्जाल हो।
कार्यक्रममा इसिमोडका पूर्व उपमहानिर्देशक तथा स्टेयरिङ कमिटीका पूर्व सदस्य डा. एक्लव्य शर्माले सामूहिक प्रयासले हिमाली क्षेत्रमा दिगो विकासका नीतिगत र कार्यगत दिशालाई बलियो बनाउने टिप्पणी गरे।
इसिमोड तथा यसको मुख्य दातृ संस्थाको साथ र सहयोगमा एचयूसीले विशेषज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा ज्ञान–समुदायलाई एउटै मञ्चमा जोड्दै शैक्षिक सहकार्यलाई सुदृढ गर्दै आएको छ। हाल कन्सोर्टियम एक सयभन्दा बढी विश्वविद्यालय र शैक्षिक संस्थाको व्यापक क्षेत्रीय सञ्जालका रूपमा विस्तार भइसकेको छ।
सचिवालय काठमाडौं विश्वविद्यालयमा सारिएको निर्णयले कन्सोर्टियमलाई पूर्वनिर्धारित लक्ष्यअनुसार थप स्वायत्तता प्रदान गर्नुका साथै स्थानीय सान्दर्भिकता र शैक्षिक छविमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले यो सहकार्य दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धान क्षमताको सुदृढीकरणतर्फ महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार, काठमाडौं विश्वविद्यालयले कन्सोर्टियमलाई नयाँ उचाइमा पुर्याउने क्षमता राख्दछ।
त्यसैगरी काठमाडौं विश्वविद्यालयले सचिवालयमार्फत एचयूसीको नेटवर्क, सीप र संस्थागत क्षमतालाई अझ मजबुत बनाउँदै क्षेत्रीय शैक्षिक सहकार्यलाई उपयोगी दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। कुलपति प्रा. डा. अच्युत वाग्लेले यो कदम हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयबीचको सहकार्यमा नयाँ माइलस्टोन सावित हुने बताए।






