सहकारी क्षेत्रमा एआईको प्रयोग सम्बन्धि तालिम
बनेपा÷ जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा मिति २०८२ मंसिर २४ गते “सहकारी क्षेत्रमा (AI -Artificial Intelligence) को प्रयोग” विषयक एक दिवसीय तालिम सम्पन्न भएको छ ।
तालिममा संघका शिक्षा तथा तालिम ब्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्व एवं संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । तालिमको सहजकर्ता सन्दिपराज भाटले गरेका थिए । ए. आइ प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष अमन पोटेले बताए । तालिममा संघका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, विभिन्न सहकारी संस्थाबाट ३२ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहकारीहरूको दैनिकी कार्यमा ए आई प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । ए.आई आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन, सूचना प्रवाह तथा कागजी कार्यलाई डिजिटल रूपान्तरण गर्ने उपायहरूबारे प्राविधिक विज्ञ सन्दिपराज भाटले सहभागीहरूलाई प्रयोगात्मक रुपमा सहजिकरण गरेका थिए ।
तालिममा स्वागत मन्तब्य सचिव प्रकाश बञ्जाराले राखेका थिए । प्रमुख अतिथी सहकारी संघका पोटे श्रेष्ठले सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन तालिम अत्यन्तै आवश्यक रहेको बताए । पोटेले प्रविधिको सकरात्मक र नकरात्मक पक्ष हुने हँुदा तालिमबाट प्राप्त ज्ञान र सिपलाई सहि प्रयोग गर्नुपर्ने बताए । तालिममा कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, तालिम संयोजक शान्ति लामा तामाङ लगाएतले तालिमका बारेमा मन्तब्य राखेका थिए ।
तालिममा संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले आगामी दिनमा सहकारीहरूका लागि थप प्रभावकारी कार्यक्रमहरू निर्माण गर्न सहयोग गर्ने बताएका थिए ।






