नेपाल शैक्षिक परामर्श संघ काभ्रेको दोश्रो सभा

by | मंसिर २६, २०८२

नेपाल शैक्षिक परामर्श संघ काभ्रेको दोश्रो सभा

धुलिखेल/नेपाल शैक्षिक परामर्श संघ काभ्रेपलाञ्चोकको दोस्रो साधारणसभा धुलिखेलमा सम्पन्न भएको छ । अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन बाग्मती प्रदेश सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले गरेका थिए । 
पछिल्लो समय दर्ता नभई संचालन भएका र राज्यले नियमन गर्न नसकेको शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन आफ्नो सक्रियता हुने बताए । उनले शैक्षिक परामर्श दाताहरुलाई व्यवस्थित गर्न दर्ता, नविकरण तथा नियमनलाई प्राथमिकता दिने बताए । उनको मन्त्रालयमा एक सय भन्दा धेरै आवेदनहरु अध्ययन नहुँदा थन्किरहेका छन् ।

नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले अन्य मुलुकमा उच्च शिक्षाको अवसरका लागि जान चाहने विद्यार्थीहरुका लागि संघले सहजिकरण गरिरहेको बताए । उपाध्यक्ष लक्ष्मण पौड्याल, महासचिव दिपकराज भुषाल, सचिव भवनाथ हुमागाई, विभिन्न जिल्लाका अध्यक्षहरु लगायतले शैक्षिक परामर्श संघले खेलिरहेको भूमिका र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले साधारण सभाको शुभकामना दिएका थिए ।

साधारण सभामा अध्यक्ष भुवन रायमाझीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, सचिव बालकृष्ण न्यौपानेले पेस गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अशोक तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । सभामा शैक्षिक परामर्श क्षेत्रको गुणस्तर वृद्धि, सदस्यहरूको क्षमता अभिवृद्धि र विद्यार्थीहरूको हितमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।