केपी शर्मा ओलीले भने- एमाले अजम्बरी छ
काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गरेका छन् ।
शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गरेका हुन् ।
अध्यक्ष ओलीले जेन—जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरूका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरूलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आफूले ढुक्कका साथ भन्नसक्ने अवस्था आएको बताए । उनले उद्घाटन समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको समेत बताए ।
अध्यक्ष ओलीले भने ‘तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु–तीन महिना अघिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । आततायीहरुबाट जलाईरहिएको थियो । जतिबेला संविधान, लोकतन्त्र, र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो । एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो । पुराना पार्टीहरू सकिए, पुराना नेताका दिनहरू गए । र नेकपा एमालेका सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो । धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यहाँ यो जनसागर उर्लिएको छ । म ढुक्कले भन्न सक्छु–लोकतन्त्र अजय छ । नेकपा एमाले अजम्वरी छ ।’
अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र त्यसको स्तम्भको रूपमा रहेका राजनीतिक दलहरूमाथिको हमला स्वीकार्य नहुने समेत बताए ।






