एनपीएल फाइनलः सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य

by | मंसिर २७, २०८२

एनपीएल फाइनलः सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३÷३ विकेट लिए ।

आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रहेका रोहितकुमार पौडेलले र सुदूरपश्चिमको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो ।

गएको वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो पटकको फाइनलमा उपाधि जित्ने लक्ष्यमा छ । यस पटक लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो । त्यस्तै अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यस पटक लिग चरणमा सुदूरसँगको हार बिर्सेर उपाधि उचाल्ने योजनामा छ ।

एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारका रूपमा कार पाउनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।