एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ११–१३ मा काठमाडौँमा

by | मंसिर २९, २०८२

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ११–१३ मा काठमाडौँमा

हालै दुई समूहबिच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ ।

काठमाडौँमा हुने उक्त महाधिवेशन एकताको हुनेछ । एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) महाधिवेशन गर्ने निर्णय गरेको पूर्वअध्यक्ष तथा कमिटीका सदस्य आरके शर्माले जानकारी दिए ।

कमिटीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको हो। बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय समन्वय समिति (एनसीसी) हरू बिचको एकतालाई निष्कर्षमा पु¥याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ। उक्त समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।

संघले बृहत् एकताको सन्देश विश्वभरका नेपालीमाझ पु¥याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार डिसेम्बर १९मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र, डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम हुनेछ । बैठकले सदस्यता सम्बन्धी समितिलाई ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, अनुशासनलाई कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी नगराइने निर्णय समेत भएको छ ।