धरौटीमा रिहा भए पछि मन्त्रीको ध्यानाकर्षण– ‘पुनः जनविद्रोह गर्न बाध्य हुने परिस्थिति नआओस्’
बनेपा÷आपराधिक उपद्रव अभियोगमा पक्राउ गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा रिहा गरे पछि पनौती नगरपालिका वडा नम्बर २ कैराभन्ज्याङ्ग बस्ने ३१ बर्षिय श्याम तिमल्सिनाले सोमबार बनेपामा मन्त्री कुलमान घिसिङ्गलाई ज्ञापनपत्र बुझाएका छन् ।
तिमल्सिना लगायत १५ जना विरुद्ध गोपी थापाको जाहेरीले अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेकाहरु धरौटीमा रिहा भएका थिए भने अन्यलाई पक्राउ पुर्जी जारी भएको थियो । अघिल्लो चरणमा प्रहरीले १२ जना पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ज्ञापनपत्रमा भनिएको छ –‘भाद्र २३ र २४ गते भएको जेनजी जनविद्रोहले स्थापित गरेको सरकार प्रति जनताहरूले ठूलो आशा र भरोसा गरेको समयमा युवा आम जनसमुदायहरूले नागरिक सरकारलाई साथ समर्थन गरिरहेको परिवेशमा वर्तमान सरकारकै प्रधानमन्त्री मातहतमा रहेको महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत जिल्ला न्यायाधिवक्ताको कार्यालय र गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल प्रहरीले जेन जी आन्दोलनका क्रममा सहभागी र हेर्न गएका तथा तत्कालीन सरकारको विरोधमा पोष्ट गरेका मानिसहरूलाई गिरफ्तारी गर्ने झुटा मुद्दा लगाएर हिरासतमा थुन्ने ठूलो रकम धरौटी र वकिल खर्च गराउने दुषप्रयासका साथ तत्कालीन सरकारका समर्थक पार्टीका मानिसहरूले जे भन्यो त्यही मान्ने र जथाभावी गिरफ्तारी गर्ने, नेपाल सरकारकै संयन्त्रका कर्मचारीहरूले दुःख दिने काम गरिरहेकोले तत्काल यस्ता हर्कतहरू बन्द गर्न र त्यस्ता सरकारी वकिल र प्रहरी प्रमुख अनुसन्धान अधिकृतहरूलाई तत्काल कारबाही निलम्बन गर्न जोडदार माग गर्दछौं । अन्यथा नियम विपरीत काम गर्ने प्रहरी प्रमुख र सरकारी वकिललाई कारबाही नभए जनताले फेरि पुन जनविद्रोह गर्न बाध्य हुने परिस्थिति नआओस् भन्ने चेतावनी समेत दिन चाहन्छौं ।’
ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ मार्फत नेपाल सरकार मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौं नेपाललाई ध्यानाकर्षण बुझाईएको तिमल्सिनाले बताए ।





