ओलीको मार्गदर्शनमा कुसियैत एमाले सचिव पदको दौडमा
काठमाडौं / एमालेका सुनसरी जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहेका नेता जगदिसप्रसाद कुसियैतले ११ औँ महाधिवेशनमा सचिव पदका निम्ति प्रतिस्पर्धा गर्ने भएका छन् ।
अविच्छिन्न रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथमा रहेको भन्दै उनले ओलीकै मार्गदर्शनमा उक्त उम्मेदवारी दावी गरेका हुन् । आठौँ महाधिवेशनदेखि पार्टी केन्द्रीय सदस्य रहँदै आएका उनी पञ्चायतकालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् ।
विष्णुबहादुर मानन्धर नेतृत्वको कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेका उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट पहिलो पटक एमालेको विजययात्रा शुरु गरेका थिए । २०५२ सालको उपनिर्वाचनमा उनी सुनसरी– ४ बाट निर्वाचित भएका थिए । २०७४ मा प्रदेशसभा सदस्य जितेका उनी उक्त कार्यकालभरि कोशी प्रदेशको मन्त्रीको जिम्मेवारीमा थिए ।
उनले सचिवको उम्मेदवारका रुपमा तयारी गरे पनि पार्टी अध्यक्ष ओलीको निर्देशनअनुसार अन्य पदमा उम्मेदवार हुनसक्ने सम्भावना रहेको पनि बताए । ‘अध्यक्ष कमरेडले जे भन्नुहुन्छ, त्यही गर्छु’, उनले भने ।






