क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवासँग कोइरालाको छलफल
काठमाडौं/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद र केन्द्रीय अनुशासन समितिको कारबाही सिफारिस फुकुवालगायत विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवालाई भेट्न पुगेका थिए ।
भेटमा कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बरबिनाका फारम जिल्ला–जिल्लामा पठाएको विषय उठाएका थिए । यसले पार्टीभित्र देशैभरि जटिल समस्या उत्पन्न भएको भन्दै उनले देउवासामु गम्भीर ध्यानाकर्षण गराए ।
कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता बोलाएर नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे । साथै, ती फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्नै नसक्ने तर्क पनि उनले राखे ।
यस्तै, अनुशासन कारबाहीका विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराए । २०७९ को निर्वाचन गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने भन्दै उनले सबैको कारबाही फुकुवा गरेर पार्टी महाधिवेशन र आमनिर्वाचनमा खट्न निर्देशन दिनुपर्ने धारणा राखे ।
पार्टीको आगामी महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयले कांग्रेसभित्र तनाव बढाएको छ ।






