एमाले महाधिवेशनः बेलुका ७ बजेपछि मात्रै मतदान, ८० वटा भोटिङ मेशिन प्रयोग हुने
नेकपा एमालेको नयाँ नेतृत्वका लागि बेलुका ७ बजेपछि मात्रै मतदान शुरू हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर बेलुका ७ बजेदेखि मतदान शुरू हुने जानकारी गराएको हो ।
यसअघि बिहान १२ बजेदेखि मतदान शुरू हुने कार्यतालिका तय भएको थियो । तर तयारी पूरा नभएको भन्दै आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो । मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेशिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ ।
आयोगको सूचनामा भोलि बिहान १ बजेसम्म मतदान चल्ने उल्लेख छ । तर मतदानका लागि कम्तीमा ११ घण्टा लाग्ने अनुमान छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने र एक राउन्डका लागि औसतमा २५ मिनेट लाग्ने अनुमान रहेकाले २ हजार २ सय ६२ प्रतिनिधिलाई भोट हाल्न कम्तीमा ११ घण्टा लाग्नेछ ।
एमाले ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा छन् । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् ।
केन्द्रीय कमिटी, पदाधिकारीसहित कुल ३०१ पदका लागि ६०३ जना उम्मेदवार छन् । केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३ सय ५१ पदका लागि मतदान हुन लागेको हो ।






