एमाले महाधिवेशनः सर्यो मतदानको समय, भोलि बिहान ८ बजेबाट हुने
नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्।
आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक–पटक सारिएको थियो।
मतदानका लागि कम्तीमा ११ घण्टा लाग्ने अनुमान छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने र एक राउन्डका लागि औसतमा २५ मिनेट लाग्ने अनुमान रहेकाले २ हजार २ सय ६२ प्रतिनिधिलाई भोट हाल्न कम्तीमा ११ घण्टा लाग्नेछ ।
एमाले ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा छन् । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् ।
केन्द्रीय कमिटी, पदाधिकारीसहित कुल ३०१ पदका लागि ६०३ जना उम्मेदवार छन् । केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३ सय ५१ पदका लागि मतदान हुन लागेको हो ।






