एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, राति १० बजेसम्म सकिने आकलन

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ। ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्।

मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन्।

यसैबीच एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा।.कुन्साङ लामाले आज राति १० बजेसम्म मतदान सम्पन्न हुने आकलन गरिएको जानकारी दिए।

एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।

जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।

अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन्।