एमाले महाधिवेशनः मतदानको समय ३ घण्टा थपियो, अब ८ बजेसम्म

by | पुस २, २०८२

एमाले महाधिवेशनः मतदानको समय ३ घण्टा थपियो, अब ८ बजेसम्म

एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा मतदानको समय ३ घण्टा थपिएको छ । निर्वाचन आयोगको बैठक बसेर मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरिएको हो ।

यसअघि मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्म तोकिएको थियो ।

महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान हलभित्र प्रवेशको समय ८ बजे कायम गरिएको बताए । उनले कुपन लिएर मतदानको अधिकार सुरक्षित गर्न आग्रह समेत गरेका छन् ।

हालसम्म ७५२ भोट खसेको एमाले निर्वाचन आयोगका एक निर्वाचन प्राविधिकले जानकारी दिए । बुधबार बिहान झन्डै १० बजेदेखि मतदान सुरु गरिएको थियो ।

एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट लिएको बताउँदै कतिपयले २ घन्टासम्म पनि लगाएको बताए । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् । एमालेले राति १० बजेसम्म मतदान सक्ने बताए पनि यही रफ्तारमा मतदान जारी रहे तोकिएको समयमै सकिनेमा शंका छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन् ।