चीन–नेपाल मिडिया समिट सम्पन्न, सञ्चार सहकार्यको समझदारी
‘चाइना–नेपाल मिडिया समिट–२०२५’ विविध कार्यक्रम सहित सम्पन्न भएको छ । नेपाल–चीन कूटनितिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा चौथो संस्करणको मिडिया समिट भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन । नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको प्रसंशा गर्दै मन्त्री खरेलले नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा चीनको महत्वपूर्ण भूमिका रहदैं आएको समेत बताएका छन्।
दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित समिटमा नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा दक्षिण एसिया नेटवर्क टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत रमीला गौतमले नेपाल र चाइना बीचको सम्बन्धबारे प्रकाश पारेकी थिइन ।
समिटले दुवै देशका सञ्चार माध्यमबीच सहकार्यलाई थप सुदृढ बनाउँदै साझा हित र सरोकारका विषयमा नयाँ अध्यायको सुरुवात भएको छ ।
समिटका अवसरमा दुई देशका सञ्चारमाध्यमबीच सामाग्री आदनप्रदान, तालिम, क्षमता अभिवृद्धि तथा संयुक्त परियोजना सञ्चालन गर्ने सहमति पनि भएको छ ।






