कुशादेवीमा प्रथम काभ्रे जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिता
कुशादेवी/पनौती नगरपालिका वडा नम्वर १, २ र ३ साविक रयाले र कुशादेवीको आयोजनामा आगामी पौष ४ देखि ६ गतेसम्म प्रथम काभ्रे जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिता २०८२ शुरु भएको छ । कुशादेवी तेक्वान्दो डोजाङ्गको सह–आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १७ मध्ये १४ डोजाङ्गका करिव ४ सय खेलाडी सहभागि भएका छन् ।
प्रतियोगिताको उद्घाटन उप–प्रमुख गिता बञ्जाराले गरेकी थिईन् । वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारी, वडा नम्वर ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटा, पुर्व नगर प्रमुख भिम न्यौपाने, तेक्वान्दो महासंघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी लगायतका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अति थी बञ्जाराले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिदै विविध कार्यक्रम आयोजनामा नीति र बजेट समावेश गरेको बताईन् । प्रमुख अतिथी बञ्जाराले खेल र खेलाडी उत्पादन, खेल क्षेत्रको मनोबल उकास्न र खेलाडीहरुलाई ब्यवसायीक रुपमा सक्षम बनाउन स्थानीय स्तरमा प्रशिक्षण केन्द्रहरु तयार गर्नु पर्ने बताईन् ।
कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिताका लागि तयारी गरिएको बताए । वडा स्तरीय बजेट र विभिन्न संघ संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उनले बताए । २०५२ सालमा पनौती ७ स्थायी भएका तेक्वान्दो गुरु रामचन्द्र कर्माचार्यले प्रशिक्षण दिई शुरु भएको उक्त खेलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु तयार भएको उनले बताए । प्रशिक्षण शुरु भएको ३० वर्ष पछि जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न सकिएको हो ।
पनौती नगरपालिकाबाट अन्तराष्ट्रिय खेलमा संजीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरे लगायतका खेलाडीहरुले गोल्ड मेडल जितेका छन् । पछिल्ला दिनमा तेक्वान्दो संघका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलंकामा आयोजित प्रथम दक्षिण एशियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती नगरपालिका वडा नम्वर २ का कुशल हुमागाई र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाई, मलेसियामा केशव थापा, थाईल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटा लगायत सहभािग भई विभिन्न मेडलहरु प्राप्त गरेका छन् ।
कुशादेवी डोजाङका अध्यक्ष एवं तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापाले २० वटा इभेन्टमा प्रतिस्पर्धा भएको बताए । गेरोगी र कूम्से विद्यामा महिला तर्फ २० केजी ५८ केजीसम्म र पुरुष तर्फ २२ केजी ६० केजी तौल समुहका बीच प्रतिस्पर्धा भएको थियो । २० स्वर्ण, २० सेकेन्ड मेडल र ४० वटा तेश्रो मेडल सहित प्रथम ट्रफि, दोश्रो ट्रफि र नगद पुरस्कार समेत उपलब्ध हुनेछ । विजयीहरुलाई भोली पुरस्कार वितरण हुनेछ ।






