नियमित ध्यान गरौं

by | पुस ६, २०८२

नियमित ध्यान गरौं

चन्चल मन अडिग राख्न तनाव हटाई,
लौ गरौँ ध्यान होशको साथ मन यो लगाई,
मनमा शान्ति मुहार कान्ति ध्यानको प्रसाद,
साधना गर्दा आनन्दभाव हट्दछ विषाद,

श्वाशमा पुरै लगाइ मन ध्यानामा बस्दा त,
नियम बुझी आसन मिल्दो छानेर गर्दा त,
आनन्द कति आउने रहेछ के साध्य भनेर,
लाभको सङ्ख्या छ यति धेरै सकिन्न गनेर,

उषाको लाली आउनु अघि त्यो ब्रह्म मुहुर्त,
ध्यानमा बस्दा हुनेछ शुभ बर्षन्छ अमृत,
तपस्वी ऋषि साधना गर्ने यै शुभ घडीमा,
गर्दछन् ध्यान सकारात्मक ऊर्जाको खोजीमा,

आसन मिल्दो छानेर मुद्रा हातको बनाई,
गहिरो ध्यान गर्दामा हुन्छ सुभाव कमाई,
हलुकासँग गरेर बन्द यी दुवै नयन,
टिकाई आज्ञा चक्रमा दृष्टि अन्यत्र भएन,

एकाग्र भई विचार शून्य स्थितिमा रहेर,
सबैले गरौँ अभ्यास यही सचेत भएर,
रेचक अनि पुरक पनि साथमा कुम्भक,
नियमपूर्ण गरौं त ध्यान लाभ नै लाभ छ,

स्वमनलाई बनाई खाली ध्यानमा जाँदा त,
लाभको मात्रा बढी नै हुन्छ भएमा सचेत,
गर्दन ढाड पारेर सिधा त्यो सुख आसन,
रोजेर गरौँ ध्यानको क्रिया तनाव फ्याँकन,

ॐकार ध्वनि जपेर अनि बनेर तयार,
गर्दामा ध्यान आनन्दी मन हलुका भएर,
ध्यानको बाटो सुगम तर प्रभाव अपार,
निराशा चिन्ता हट्दछ डर स्वास्थ्यमा सुधार,

तनाव अनि अनिन्द्राबाट लौ मुक्ति पाउन,
एकाग्र भई गरेका कार्य सफल तुल्याउन,
ध्यान हो बाटो यसैले गर्छ आत्मिक विकास,
सधैँ नै ध्यान गर्नेले हुनु पर्दैन निराश,

ध्यानको मार्ग छ फराकिलो सबैनै अटिन्छ,
विहान साँझ दिनमा पनि गर्न त सकिन्छ,
ओखती योत प्रभावकारी मनको रोगको,
उपाय दिव्य अध्यात्मभाव जगाउने भोकको,

ध्यानको मुल्य विश्वमै छनि दिनहुं बढेको,
प्रचार गर्न यु यन पनि अगाडि सरेको,
यो ध्यानलाई सबैले आफ्नो दैनिकी बनाऔं,
आरोग्य तन आत्मिक शान्ति मनग्य कमाऔं।

दोस्रो विश्व ध्यानदिवसको हार्दिक शुभकामना।