धुलिखेल–४ मा बारिष्टा र बेकरी सम्वन्धी निःशुल्क तालिम
धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले वडा भित्र रहेका युवा तथा बेरोजगार नागरिकहरुलाई रोजगार उपलब्ध गराउन सीप सिकौं, आत्मनिर्भर बनौ भन्ने अभियानलाई ब्यहारत कार्यान्वनका लागि विभिन्न तालिमहरु आयोजना गरिरहेको छ ।
आईतबार देखि ६५ दिने अर्थात ३९० घण्टे बारिष्टा तथा बेकरी तालिम धुलिखेल नगरपालिका वडा नम्वर ४ को समन्वयमा भईरहेको छ । वडा भित्र रहेका ३० युवाहरु तालिममा सहभागि भएका छन् । ‘सबै नागरिकहरु आर्थिक रुपमा सक्षम बनाउन सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले विभिन्न निकायको समन्वयमा तालिमहरु आयोजना गरिरहेका छौं’–वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले भने–‘सीप सिकेर बेरोजगार नबसौं । प्रमाणपत्र लिएर तालिमको उपयोगीता सार्थक हुन सक्दैन । स्थानीय सरकार तपाईहरुले सिकेको सीपलाई ब्यहारत उतार्न समन्वयकारी भूमिका खेल्न तयार छ ।’ तालिम सिकेर सदुपयोग नभएको भन्दै वडा अध्यक्ष तिमल्सिनाले हरेक क्षेत्र र ब्यवसायका लागि सीप महत्वपूर्ण हुने उनले बताए ।
धुलिखेल ४ ले महिलाहरुका लागि सिलाई कटाई, बुनाई, अचार बनाउने, ब्युटिसियन तथा अन्य तालिमहरु आयोजना गरिसकेको छ भने महिला र पुरुष दुबैका लागि ड्राईभिङ तथा कुक तालिम आयोजना गरिएको छ । पुनः मोवाईल मर्मत तथा अन्य सीप मुलक तालिमका लागि वडा कार्यालयले समन्वय गरिरहेको उनले बताए । तालिमको शुभारम्भ कार्यक्रममा वडा सदस्य सुना मग्राँन्ती, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, बारिष्टा तालिमका प्रशिक्षक कामदेव शाह ठकुरी र नारायण लामा लगायतले तालिमका महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए ।
वडा कार्यालयले समन्वय गरिरहेको तालिम सामाजिक विकास मन्त्रालयद्वारा लालिगुँरास टोल सुधार समितिको आर्थिक सहयोगमा आयोजना गरिएको हो । निशुल्क आयोजना गरिएको तालिमका बारेमा जानकारी गराउँदै टोल सुधार समितिका अध्यक्ष श्रीराम थापाले टोलमा रहेका बेरोजगार ब्यक्तिहरु तथा सीप विहिनहरुलाई सीप उपलब्ध गराएर आत्मनिर्भर बनाउन सहजिकरण गरेको बताए । तालिम लिएर जिल्ला भित्र तथा बाहिर र अन्य मुलुक प्रवेश गर्दा पनि सहज हुने उनले बताए । कार्यक्रममा जेष्ठ नागरिक रमादेवी थापा, स्थानीय टोल सुधार समितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । तालिममा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टरले सहभागिहरुलाई तालिम प्रदान गर्नेछ । सहभाहिरुले सीप सिकेर आत्मनिर्भर बन्ने बताए ।






