कुशादेवीमा प्रथम काभ्रे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता समापन, प्रतियोगिताका उत्कृष्ट खेलाडी विरेन्द्र हुमागाई

by | पुस ६, २०८२

कुशादेवीमा प्रथम काभ्रे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता समापन, प्रतियोगिताका उत्कृष्ट खेलाडी विरेन्द्र हुमागाई

कुशादेवी/पनौती नगरपालिका वडा नम्वर १,२,३ को आयोजना र कुशादेवी तेक्वान्दो डोजाङको सह–आयोजनामा पौष ४ गते देखि शुरु भएको प्रथम काभ्रे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट पुरुष २४ केजी तर्फ कुशादेवी डोजाङका विरेन्द्र हुमागाई र उत्कृष्ट महिला तर्फ ४२ केजीकी पनौती डोजाङकी विपना लामा उत्कृष्ट भएका छन् । अनुशासित कोच कुशादेवी डोजाङका विजय खड्का भएका छन् । बेस्ट प्लेयर पुरुष तर्फ कुशादेवी डोजाङका प्रशान्त थापा, बेस्ट प्लेयर महिला तर्फ कुशादेवी डोजाङकै प्रश्ना सापकोटा र बेस्ट रेफ्रि राकेश तामाङ भएका छन् । त्यस्तै डोजाङ तर्फ कुशादेवी डोजाङले सबै भन्दा धेरै ६ वटा गोल्ड, ३ सिल्भर, ७ ब्रोन्च, अरनिको डोजाङ ५ गोल्ड, ७ सिल्भर, ६ ब्रोन्च, डिभाईनलाईट डोजाङले ४ गोल्ड र १ सिल्भर प्राप्त गरेको छ ।

वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले स्वागत गरेका थिए । पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, पुर्व नगर प्रमुख भीम न्यौपाने, नेपाल तेक्वान्दो संघ कुकियन नेपालका इन्चार्ज टिकाप्रसाद लिम्बु (तार्जन), प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, त्रिभुवन विश्वविद्यालयका पुर्व सहायक डिन डा.निलमकुमार शर्मा, वडा अध्यक्ष पुरुषोतम अधिकारी, नगरपालिकाका शाखा अधिकृतहरु, वडा सचिवहरु, पार्टी प्रतिनधिहिरु, विद्यालयका प्रधानाध्यापकहरु, तेक्वान्दो खेलका पुर्व जिल्ला अध्यक्ष प्रशिक्षक रामचन्द्र कर्माचार्य, , तेक्वान्दो संघका अध्यक्ष केशव थापा लगायतले प्रतियोगिताले स्थानीय स्तरमा समेत खेलका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न सहजता भएको बताए । शारदा ढुंगानाको संचालन गरेको कार्यक्रममा स्थानीय स्तरबाट राष्ट्रि, अन्तराष्ट्रिय तथा जिल्ला स्तरमा उत्कृष्ट भएका खेलाडी तथा सहयोगीहरुलाई सम्मान गएिको थियो ।

प्रतियोगिताका १३ डोजाङका करिव ४ सय खेलाडीहरुले विभिन्न विद्यामा प्रतिस्पर्धा गरेका थिए । २०५२ सालमा प्रशिक्षण शुरु भएको उक्त क्षेत्रमा ३० वर्ष पछि जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको हो । तत्कालिन अवस्थामा गुरु रामचन्द्र कर्माचार्यले कुशादेवीमा तेक्वान्दो प्रशिक्षण दिएका थिए ।