यो हप्तालाई वर्षाको सम्भावना छैन : मौसमविद् पोखरेल
काठमाडौं / देशका धेरै भागमा आज पनि मौसम बदली हुनेछ । राम्रोसँग घाम नलाग्दा चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् गोविन्द झा बताउँछन् ।
आज बिहान तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । “शुक्रबार तराईमा दिनभर हुस्सु र कुहिरो खुलेन । हिजो दिउँसो खुलेको थियो,” मौसमविद् झा भन्छन्, “आज पनि दिउँसो घाम लाग्न थालेपछि खुल्ने सम्भावना छ ।”
तराईसँगै पहाडी उपत्यकामा पनि हुस्सु र कुहिरो लागिरहेको छ ।हुस्सु र कुहिरो लागेसँगै तीन दिनबाट चिसोको महसुस भएको छ । यसको कारण पश्चिमी वायु भएको मौसमविद् झा बताउँछन् ।
“५५ सय ६ हजार मिटरमथि उपल्लो वायुमण्डलमा बनेको न्यूनचापीय प्रणालीका कारण चिसो भएको हो,” उनी भन्छन्, “शक्तिशाली न्यूनचापीय प्रणाली नभए पनि न्यूनचापीय प्रणाली बनेको छ । न्यूनचापीय प्रणालीका कारण आएको चिसो हावाका कारण चिसो भएको हो ।”
यो हिजो भन्दा आज कम हुने र आजभन्दा भोलि कम हुने उनको भनाइ छ । न्यूनचापीय प्रणालीका कारण चिसो हावा आए पनि पानी पार्ने क्षमता भएको जलवाष्प हावा भने नरहेको उनी बताउँछन् ।
“जलवाष्पयुक्त हावा आए पनि यसमा पानी पानसक्ने क्षमताको भने छैन । त्यसैले चिसो भए पनि पानी पर्ने सम्भावना भने छैन,” उनले प्रष्ट पारे ।
बादल विस्तारै माथिल्लो वायुमण्डलतर्फ सर्दै जाने र केही दिनमै खुल्दै जाने उनको भनाइ छ ।
जलवायुविज्ञ धर्मराज उप्रेती पश्चिमी वायुको प्रभावले चिसो बढेको बताउँछन् । “पश्चिमी वायुको प्रभावले चिसो बढ्नेछ । बादल र हुस्सु थप देखिने सम्भावना छ,” जलवायुविज्ञ उप्रेती भन्छन्, “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।”
उनले चिसो हावा बढ्ने सम्भावना रहेको बताएका छन् ।
मौसमविद् विनोद पोखरेल यो पश्चिमी वायुले वर्षा गराउन नसक्ने बताउँछन् । “यो हप्तालाई वर्षाको सम्भावना छैन,” मौसमविद् पोखरेल भन्छन् ।






